काठमाडौं: फिल्म ‘बुलबुल’ युनिटले फ्ल्यास मोब शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गर्ने भएको छ। यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन्। खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो।
फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिने जानकारी दिइयो। १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले बताए।
काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौं मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन्। बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय गीत सार्वजनिक हुनेछ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन्।
भिडियोमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसाल फचर्ड छन्। फिल्म निर्देशन विनोद पौडेलले गरेका हुन्। ‘बुलबुल’मा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्।
फिल्ममा अन्य कलाकार बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ। फिल्म फागुन ३ मा रिलिज हुँदैछ।