PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले? दशैँको टीका लगाइदिएदेखि देखिएका छैनन् सार्वजनिक कार्यक्रममा



पहिलोपोस्ट

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले? दशैँको टीका लगाइदिएदेखि देखिएका छैनन् सार्वजनिक कार्यक्रममा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सत्तारुढ पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भएपछि उनको स्वास्थ्य बारे चासो बढेको छ। 

प्रधानमन्त्रीले आज बिहानका दुई निर्धारित कार्यक्रमसमेत रद्द गरेका छन्। आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज बिहान प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम रद्द गरिएको हो। 

त्यसैगरी बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहका कुन्दन अर्यालका अनुसार मन्त्रिपरिषद् बैठक बालुवाटारमा अपराह्न ३ बजे बस्नेछ। 

नवमीका दिन प्रधानमन्त्री गृहजिल्ला झापा गएका थिए। दशैँको अवसरमा आफ्नै निवासमा दशमीदेखि चतुर्दशीसम्म टीका लगाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। यसबीचमा बालुवाटारमै आयोजित नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री उपस्थित थिए। 

अर्यालका अनुसार 'उहाँको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुनेछ।' दुई दिनदेखि प्रधानमन्त्री 'नियमित भेटघाट र बैठकबाट टाढा' छन्। 

शुक्रबार अपराह्न प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टर लगिएको थियो। नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले शनिबार पहिलोपोस्टलाई भने, 'उहाँको रोग प्रतिरोधात्मक क्षमता कम भएर छातीमा इन्फेक्सन भएको रहेछ।' 

उनका अनुसार इमर्जेन्सीको संकेत देखिएकोले लाना साथ शिक्षण अस्पतालमा आइसियुमा राख्न बेड तयार पारिसकिएको थियो। तर एक्सरे गरेपछि आइसियुमा नराखी घरमै बस्ने र आराम गर्ने सल्लाह चिकित्सकहरुले दिए। 

स्वास्थ्यमा सुधार हुँदै

क्याबिनेट चिकित्सकका रुपमा नियुक्त डा. दीलिप शर्माले आइतबार पहिलोपोस्टलाई भने, उहाँ अस्वस्थ हुनु भएको सत्य हो। ज्वरो आएको र संक्रमण भएको हो। हामीले तीन दिन आराम गर्न भनेका छौँ उहाँलाई। हिजोको भन्दा स्वास्थ्य अवस्था सुधार हुँदैछ। गाह्रो भएकै कारणले अस्पताल लगिएको रहेछ।
 
शिक्षण अस्पतालमा प्रधानमन्त्रीलाई लग्दा आफू उपस्थित नभएकोले त्यहाँ के के चेक भयो थाहा नभएको उनले बताए। 

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकारले आइतबार जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री ओली 'मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएको' उल्लेख छ। हाल 'ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा क्रमिक सुधार भइरहेको' प्रेस नोटमा उल्लेख छ।   

जीवनभर औषधी

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। ओलीमात्र हैन प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ। 

चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।

सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले गत जेठमा पहिलोपोस्टलाई भनेकी थिइन्, 'प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ।' 

सम्बन्धित समाचार
प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?
गत जेठमा प्रकाशित समाचार : यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell