PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

फेसबुकबाट प्रेम, विवाह अनि हत्या, दुई महिनापछि पक्राउ परे श्रीमान



पहिलोपोस्ट

फेसबुकबाट प्रेम, विवाह अनि हत्या, दुई महिनापछि पक्राउ परे श्रीमान

काठमाडौं: १८ वर्षीया लक्ष्मी र २२ वर्षीय अनिल परियारको चिनजान फेसबुकबाट भयो। दुबै जना रोजगारीको सिलसिलामा विदेशमा थिए। 

फेसबुकबाटै उनीहरूको भर्चुअल सम्बन्धको विस्तार भयो। अनिल र लक्ष्मीको भर्चुअल सम्बन्ध बिस्तारै प्रेममा परिणत भयो। केही समयमै उनीहरू नेपाल फर्के र विवाह बन्धनमा बाँधिए।

खोटाङको बराह पोखरी गाउँपालिका ६ का अनिल श्रीमती लिएर गाउँ पुगे। गाउँमा करिब एक महिनाको बसाइपछि उनीहरू काठमाडौं फर्किए। 

काठमाडौंमा उनीहरू बसुन्धरामा रहेको स्पिड गेस्ट हाउसमा बसे। सोही गेस्ट हाउसमा अनिलकी श्रीमती लक्ष्मी भदौ १५ गते बेलुका साढे ६ बजे मृत भेटिइन्।

कोठा नम्बर १०१ नम्बरमा उनी मृत फेला परेपछि अनिलको खोजी शुरु भयो।

अनिल भेटिएनन्। 

लक्ष्मीको शव पोस्टमार्टम गरियो। रिपोर्टले हत्या भएको देखायो।

लगत्तै प्रहरीले फरार रहेका अनिलको खोजी थाल्यो। 

घटना भएको झन्डै दुई महिनापछि भेटिए अनिल। महानगरीय अपराध अनुसन्धानको टोलीले अनिललाई पोखराबाट नियन्त्रणमा लियो। अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार अनिलले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। 

एसपी उप्रेतीले भने,'बयानमा उसले श्रीमतीको हत्या गरेको स्वीकार गरेको छ। श्रीमतीसँगको विवादको कारण हत्या गरेको बताएको छ।'

प्रहरी नियन्त्रणमा रहेका परियारले श्रीमतीको घाँटी थिचेर हत्या गरेको बताएका छन्। एसपी उप्रेतीले घटनाको थप अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell