
२८ अक्टुबर आइतबारबाट भारतीय टिभी सिरियल सिआइडीको अन्तिम भाग हुँदैछ। सन् १९९७ को जनवरीमा पहिलोपटक सोनी टिभीमार्फत प्रसारण सुरु भएको क्राइम जनराको टिभी श्रृङ्खला अब अनएयर नहुने आधिकारिक खबर २ दिन अघि मात्र सार्वजनिक भएको हो। बिपी सिंह निर्देशित कार्यक्रमको टिआरमी कम भएको कारण सो हटाउन लागेको जानकारी सोनी टिभीले दियो। तर, कारण त्यति मात्र नभएको बताउँछन् सीनियर इन्स्पेक्टर दयाको भूमिका निभाउने दयानन्द शेट्टी।
उनले बीबीसी हिन्दीसँग भनेका छन्,’च्यानलले २ वर्ष अघिदेखि नै सो बन्द गराउन कोसिस गरेको थियो। तर उनीहरु चाहन्थे निर्माताले नै सो बन्द गर्ने घोषणा गरुन्।‘
त्यसैका कारण ३ दिन प्रशारण हुने सो घटाएर दुई दिन मात्र दिएको दाबी गर्छन् उनी। शुक्रबार, शनिबार र आइतबार प्रसारण हुनु पर्नेमा कहिले कुन दिन काटिदिने कहिले कुन दिन। ‘यो सबै आन्तरिक मनमुटावका कारण हो। जबकी अन्य कार्यक्रमको तुलनामा अझै सिआइडीकै टिआरपी राम्रो थियो’, उनले भने।
सो बन्द हुने खबर सार्वजनिक भएसँगै सोनी च्यानल विरुद्ध सामाजिक सञ्जालमा ह्यास ट्याग ट्रेन्ड सुरु भयो। दयानन्द शेट्टीले सिआइडीको नयाँ संस्करण आएपनि फरक च्यानलमा आउने जानकारी दिए। भने,’सिआइडीले ठूलो परिवार बनाएको छ। अब हामी फरक शैली र विषयमाथि काम गर्न सक्छौं। त्यो वेब सिरिज पनि हुनसक्छ।‘
२१ वर्ष लामो समय प्रसारण भएको सिरिज बन्द हुने जानकारी दिंदा कलाकार स्वयंले विश्वास नगरेको उनले जनाए। निर्देशक स्वयं पनि कार्यक्रमको अन्तिम अङ्क छायांकन गरेर देखाउन समेत नपाएकोमा दु:खी छन्। ‘च्यानलले हतारमा निर्णय सुनायो।’
सोमा ‘दया कुछ तो गडबड हे...’ भनेर चर्चामा रहेका एसीपी प्रद्युम्न अर्थात शिवाजी साटमको २०१६ मा हृदयघातका कारण निधन भएको हल्ला चलेको थियो। उनको मृत्युको हल्लाले सोसल मिडियामा निकै हङ्गामा मच्चाएको थियो।*
(*सच्याइएको)