PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

श्रीलंकामा संकट : सभामुख अपदस्थ प्रधानमन्त्री कै पक्षमा, विक्रमासिङ्गेको सुविधा खोसियो तर प्रम निवास छाडेनन्



पहिलोपोस्ट

श्रीलंकामा संकट : सभामुख अपदस्थ प्रधानमन्त्री कै पक्षमा, विक्रमासिङ्गेको सुविधा खोसियो तर प्रम निवास छाडेनन्
राष्ट्रपति सिरिसेना। फोटो : एएफपी

कोलम्बो: श्रीलंकाली संसदका सभामुख करु जयासुर्याले रनिल विक्रमासिङ्गे नै देशको प्रधानमन्त्री रहेको बताएका छन्।

उनले राष्ट्रपति मैत्रीपाला सिरिसेनालार्इ पत्र लेख्दै जनताको मतबाट चुनिएर आएका बिक्रमासिङ्गेमाथि संसदले निर्णय नलिएसम्म प्रधानमन्त्रीको मान्यता दिन र खोसिएका सुविधा दिन फिर्ता दिन पनि आग्रह गरेका छन्। 

सिरिसेनालार्इ लेखेको पत्रमा उनले नोभेम्बर १६ सम्म संसदलार्इ स्थगित गर्ने निर्णयमाथि पनि प्रश्न गरेका छन्। संसद सम्बन्धी कुनै गतिविधि सभामुखको सल्लाहमा हुनुपर्ने उनको तर्क छ। 

गत शुक्रबार नाटकीय ढंगमा श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ अपदस्थ गर्दै सिरिसेनाले आफ्ना राजनीतिक प्रतिद्वन्दी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलार्इ नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए।

संसदमा बहुमत साबित नगरी प्रधानमन्त्रीबाट हटाइनु गैरकानुनी भएको विक्रमासिङ्गेको भनाई उचित भएको सभामुख जयासुर्याको तर्क छ।  

प्रम निवास छोड्न अस्वीकार

सभामुखको पत्रसँगै श्रीलंकाको राजनीतिमा नयाँ तहल्का मच्चिएको छ। 

राष्ट्रपति कार्यालयले अपदस्थ गरिएका विक्रमासिङ्गेलार्इ आजै प्रधानमन्त्री निवास खाली गर्न चेतावनी दिइएको थियो। शनिबार नै उनलार्इ दिइँदै आएको सुरक्षा र सवारी सुविधा पनि खोसिएको थियो।  

तर आफूलार्इ हटाउने निर्णय गैर संवैधानिक भएको भन्दै विक्रमासिङ्गेले टेम्पल ट्रि (प्रधानमन्त्री निवास) नछोड्ने बताएका छन्। उनको दलको युनाइटेड नेसनल पार्टी (युएनपी) को वेबसाइटमा नै 'आइ एम स्टिल द प्राइम मिनिस्टर' (म अहिले पनि प्रधानमन्त्री हुँ) भन्ने ब्यानर राखिएको छ। 

विक्रमासिङ्गेलार्इ निवासबाट बाहिर निकाल्न प्रहरीले अदालतको आदेश कुरिरहेको बताइएको छ। 

बदलिँदो राजनितिक परिस्थितिलार्इ मध्यनजर गर्दै सिरिसेनाले संसदको अधिवेशन नोभेम्बर १६ सम्म स्थागित गरेका थिए।

विक्रमासिङ्गेले आफूसँग संसदमा बहुमत रहेको भन्दै सिरिसेनाको कदम असंवैधानिक रहेको बताएपश्चात् संसदमा आफूमाथि आउन सक्ने चुनौतिलार्इ मध्यनजर गर्दै उनले आफ्नो सत्तालार्इ सुरक्षित गर्न त्यसो गरिएको अनुमान गरिएको छ।  

आज राष्ट्रपति सिरिसेनाले देशवासीको नाममा सम्बोधन गर्ने र सोमबार नयाँ मन्त्रिपरिषद् गठन गर्न सक्ने कोलम्बो पेजले जनाएको छ। 

श्रीलंकाको कोलम्बोमा भारतीय पत्रिका द हिन्दुकी संवाददाताका रुपमा काम गर्दै आएकी भारतीय पत्रकार मीरा श्रीनिवासनको बाइलाइनमा अक्टोबर २६ मा श्रीलंकाको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति सिरिसेनाले 'भारतको गुप्तचर विभाग (रअ) ले उनको हत्या गर्ने षड्यन्त्र गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ त्यसबारे थाहा नहुनसक्ने  बताएको समाचार प्रकाशित भएको थियो। 

राष्ट्रपति कार्यालयले सिरिसेनाले त्यस्तो भनेको भन्ने कुराको खण्डन गरेको थियो। तर हिन्दुले भने श्रीलंकाका चार मन्त्रीले राष्ट्रपतिले त्यस्तो बोलेको पुष्टि गरेको थियो। श्रीलंकाली प्रधानमन्त्री विक्रमासिङ्गेले भारत भ्रमण गरेको केही दिनपश्चात् समाचार प्रकाशित गरिएको थियो।
समाचार प्रकाशित भएसँगै पत्रकार श्रीनिवासनलार्इ समेत धम्की दिइएको थियो

समाचार बाहिरिएसँगै श्रीलंकाको राजनीतिले नयाँ मोड लियो र सिरिसेनाले आफ्ना प्रतिद्वन्दी राजापक्षेलार्इ नै नाटकीय ढंगले प्रधानमन्त्री नियुक्त गरेका थिए।     

चीन निकट मानिएका राजपाक्षेले सन् २०१५ मा भएको आम निर्वाचनमा पराजित भई सत्ता परिवर्तन हुनुमा रअको समेत संलग्नता रहेको बताएका थिए। 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell