
कोलम्बो: श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबार प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ अपदस्त गरी नाटकीय ढंगमा आफ्ना प्रतिस्पर्धी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यहाँ राजनीतिक हिंसा थप चर्किने संकेत देखिएको छ।
अपदस्त गरिएको सरकारमा पेट्रोलियम मन्त्री रहेका अर्जुना रणतुङ्गालाई कोलम्बोस्थित सरकारी कार्यालयमा प्रवेश गर्न खोज्दा उनलार्इ राष्ट्रपति सिरिसेनाका समर्थकहरुले रोकेका थिए। प्रदर्शन चर्किँदै गएपश्चात् रणतुङ्गाका अंगरक्षकले गोली चलाउँदा ३४ वर्षे एक व्यक्तिको मृत्यु भएको छ।
यस्तै दुर्इ जना घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
श्रीलंकाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका रणतुङ्गा अपदस्थ गरिएका प्रधानमन्त्री विक्रमासिङ्गेका नजिकका सहयात्री मानिन्छन्। घटना लगत्तै रणतुङ्गालार्इ प्रहरी र कमान्डोहरुले त्यहाँबाट नजिकैको भवनमा लगेका थिए। प्रहरीको पोशाक, बुलेटप्रुफ ज्याकेट र हेल्मेट लगाई उनलार्इ त्यहाँबाट बाहिर निकालिएको थियो।
एएफपीको रिपोर्ट अनुसार रणतुङ्गालार्इ सिरिसेनाका समर्थकले नियन्त्रणमा लिने प्रयास गरेपश्चात् बचाउमा अंगरक्षकले गोली चलाएको हो।
घटनापश्चात् उनका अंगरक्षकलार्इ पक्राउ गरिएको र घटना बारे अनुसन्धान भइरहेको बताइएको छ।
गोलीकाण्डको विरुद्धमा घटना भएको स्थानमा व्यापक प्रदर्शन भइरहेको र त्यहाँ धेरै संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ।अवस्थालार्इ थप जटिल हुन नदिनका लागि कोलम्बोका विभिन्न स्थानमा सेना परिचालन गरिएको छ।
राजापाक्षेको नियुक्ति संवैधानिक : राष्ट्रपति
यसैबीच, राष्ट्रपति सिरिसेनाले देशको नाममा सम्बोधन गर्दै राजापाक्षेको नियुक्ति संवैधानिक भएको दावी गरेका छन्। विक्रमासिङ्गेले सरकार संचालनका क्रममा सुशासनको नियमहरु पालन नगरेको र एकलौटी निर्णय लिने गरेकोले राष्ट्रलार्इ क्षति पुगेकाले आफूहरु गठबन्धनबाट पछि हट्न बाध्य भएको सिरिसेनाले बताए।सिरिसेना विक्रमासिङ्गेको दलको समर्थनसहित राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपति उम्मेदवार हुनुअघि सिरिसेना तत्कालीन राष्ट्रपति राजापाक्षेकै मन्त्रिमण्डलका स्वास्थ्य मन्त्री थिए। उनले राजापाक्षेलाई नै राष्ट्रपति निर्वाचनमा हराएका थिए।
विक्रमासिङ्गे केन्द्र बैंकको घोटलामा संलग्न रहेको, मन्त्रिमण्डलका सदस्यहरु आफ्नो कथित हत्या गर्ने षड्यन्त्रमा लागेको र प्रहरीले अनुसन्धानमा असहयोग गरेको उनले सम्बोधनका क्रममा बताए।
राजापाक्षेलार्इ प्रधानमन्त्री नियुक्त गर्नु आफ्नो एक मात्र विकल्प रहेको सिरिसेनाले बताए।
यस्तै, नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले विक्रमासिङ्गेको युनाइटेड नेश्नल पार्टी र सिरिसेनाको युनाइटेड पिपल्स फ्रिडम एलायन्सबीच भएको गठबन्धन समाप्त भएकाले विक्रमासिङ्गेको सरकारको अन्त्य भएको बताए।
एलायन्सले नेश्नल पार्टीसँगको गठबन्धन समाप्त गर्दै आफूलार्इ प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताउँदै राजापाक्षेले नयाँ सरकार गठनका लागि आफूले सहज रुपमा त्यो प्रस्ताव स्वीकार गरेको बताए।
संसद सरकार टकराव
यता, विपक्षी दलका नेता आर समपन्थनले सभामुखलार्इ पत्र लेख्दै संवैधानिक सर्वोच्चता कायम गर्न संसदको बैठक बोलाउन आग्रह गरेका छन्।विक्रमासिङ्गेले आफूसँग संसदमा बहुमत रहेको भन्दै सिरिसेनाको कदम असंवैधानिक रहेको बताएपश्चात् संसदमा आफूमाथि आउन सक्ने चुनौतिलार्इ मध्यनजर गर्दै सिरिसेनाले संसदको अधिवेशन नोभेम्बर १६ सम्म स्थागित गरेका थिए।
आजै श्रीलंकाली संसदका सभामुख करु जयासुर्याले रनिल विक्रमासिङ्गे नै देशको प्रधानमन्त्री रहेको बताउँदै सिरिसेनालार्इ पत्र लेखेका थिए।
पत्रमा जयासुर्याले जनताको मतबाट चुनिएर आएका विक्रमासिङ्गेमाथि संसदले निर्णय नलिएसम्म प्रधानमन्त्रीको मान्यता दिन र खोसिएका सुविधा दिन फिर्ता दिन आग्रह गरेका थिए।
सिरिसेनालार्इ लेखेको पत्रमा उनले नोभेम्बर १६ सम्म संसदलार्इ स्थगित गर्ने निर्णय अनुचित रहेको बताएका थिए। संसदमा बहुमत साबित नगरी प्रधानमन्त्रीबाट हटाइनु गैरकानुनी भएको विक्रमासिङ्गेको भनाई उचित भएको सभामुख जयासुर्याले पत्रमा उल्लेख गरेका थिए।
विक्रमासिङ्गेलार्इ आजै निवास छोड्न सरकारले चेतावनी दिएको थियो। उनलार्इ प्रधानमन्त्रीको रुपमा दिइएको सुरक्षा र सुबिधाहरु पनि खोसिएको थियो। तर पनि प्रधानमन्त्रीको विषय संसदले तय गर्ने भन्दै उनले प्रधानमन्त्री निवास छोड्न अस्वीकार गरेका छन्।