
प्रिमियर लिगमा आइतवार भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी भएका छन्। आर्सनल भने बराबरीमा रोकिएको छ।
लण्डन क्लब चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो। चेल्सीका लागि अल्भारो मोराटा, रोस बार्कले, विलियन र रुवेन लोफ्टस चिकले गोल गरे।
जितपछि १० खेलबाट २४ अंक जोडेको चेल्सी अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट २६ अंक जोडेको लिभरपुल पहिलो स्थानमा छ भने एक खेल कम खेलेको सिटी २३ अंकका साथ तेस्रो स्थानमा छ।
अर्को लण्डन क्लब आर्सनलले भने लगातार सात खेल जितेपछि प्रिमियर लिगमा पहिलो बराबरी खेलेको छ। आर्सनललाई क्रिस्टल प्यालेसले २-२ को बराबरीमा रोकेको हो। आर्सनलका लागि ग्राइन्ट जाका र पिएरे एमरिक औवामेयाङले गोल गरे। प्यालेसका लागि लुका मोलिभिजेभिचले दुवै गोल गरे।
बराबरीपछि १० खेलबाट २२ अंक जोडेको आर्सनल चौथो स्थानमा छ।
यस्तै म्यानचेष्टर युनाइटेड एभरटनलाई २-१ ले पराजित गर्दै आठौँ स्थानमा उक्लेको छ। युनाइटेडका लागि पउल पोग्वा र एन्टोनी मार्सिएलले एक-एक गोल गरे। एभरटनका लागि गिल्फी सिगुरसनले पेनाल्टीमा एक गोल फर्काए।