
काठमाडौं : त्रिभुवन विमानस्थल नजिकै आज बिहान शव फेला परेको छ। सिनामंगल र विमानस्थल गेटको बीचमा रहेको कल्भर्टभित्र शव फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनिल मल्लले जानकारी दिए।
अन्दाजी २० वर्षीय युवकको जलेको अवस्थामा शव फेला परेको हो। 'युवकको शरीर आगोले जलेको छ। लुगा समेत जलेको अवस्थामा छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,' डिएसपी मल्लले भने।
घटना नजिकै सलाई समेत फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा २४ घण्टाभित्र नै घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। डिएसपी मल्लले भने, '२४ घण्टा भित्रकै घटना देखिन्छ। हामीले मेडिकल एक्सपर्ट टिम बोलाएर चेक गरिरहेका छौं। पोस्टमार्टम रिपोर्टपछि केही खुल्ला।'
शवको सनाखत हुन सकेको छैन। प्रहरीले केही दिन यता राजधानीमा हराएका मानिसको विवरण समेत हेरिरहेको छ।