PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मुगुकाे सदरमुकाम १० दिनदेखि अन्धकार



पी बी खड्का

मुगुकाे सदरमुकाम १० दिनदेखि अन्धकार
फाइल फाेटाे

सुर्खेतः मुगुको सदरमुकाम गमगढी १० दिनदेखि अन्धकारमय भएको छ। छायानाथ रारा नगरपालिकास्थित गमगाड साना जलविद्युत आयोजनाको मेसिन बिग्रिदा सो समस्या आएको हो। आयोजनाको मेसिन बिग्रिएकाले नगरपालिका अन्धकार भएको वडा नं. ४ का वडाध्यक्ष विष्णु रामले जानकारी दिए।  

‘१६ वर्षअघिदेखि सञ्चालनमा आएको गमगाड जलविद्युत आयोजना १० दिनअघि मेसिन बिग्रीएकाले बन्द भएको छ।’ उनले भने,‘नेपालगञ्जबाट इन्जिनियर बोलाएर हेराउँदा चाइनिज मेसिन भएकालेव चाइनाबाटै मेसिन ल्याउनु पर्छ भनेको छ, अब चाइनाबाट सामान नल्याउँदासम्म बन्द नै हुन्छ। अरु विकल्प केही छैन।’

दुई वटा मेसिनबाट उत्पादन गरिँदै आएको जलविद्युत आयोजना ७ वर्षदेखि एउटा मेसिनले मात्रै २४ घण्टा सञ्चालन गर्नुपर्ने बाध्यता थियो। यसअघि दिनको १२ घण्टा एउटा मेसिन र रातको १२ घण्टा एउटा मेसिन चलाउने गरेको वडाध्यक्ष रामले बताए।

‘पहिले दुई वटा मेसिन हुँदा १२-१२ घण्टा गरेर चल्दै आएको थियो।’ उनले भने,‘७ वर्षअघि एउटा मेसिन बिग्रिएकाले हाल एउटा मेसिन मात्रै चल्दै आएको थियो। १० दिनदेखि त त्यही एउटा पनि बिग्रियो।’

निर्माण गर्ने बेला २५ सय किलोवाट क्षमताको जलविद्युत आयोजनापछि घटाएर ४ सय किलोवाट मात्रै उत्पादन हुँदै आएको थियो। हाल उक्त जलविद्युत आयोजनाबाट झण्डै तीन हजार घरधुरी लाभान्वित रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell