काठमाडौँ : आइतबार अपराह्न शेरबहादुर गुरुङ झापाको बिर्तामोडस्थित एनएमबी बैंकमा रकम जम्मा गर्न पुग्छन्। गुरुङ डिपोजिट भौचरमा विवरण भर्न व्यस्त हुन्छन्।
भौचर भरिसकेर अर्को कुर्सीमा आफूले राखेको झोला हेर्दा त्यसमा पैसा हुँदैन। ताप्लेजुङका गुरुङ १६ लाख ९९ हजार चोरी भएको भन्दै प्रहरीकोमा पुग्छन्।
प्रहरीले बैंकको सिसिटिभी क्यामेराको दृश्य हेर्दा चोरी भएको पुष्टि हुन्छ। बैंकमा दुई जना सेक्युरिटी गार्ड भए पनि उनीहरुले चोरी भएको पत्तै पाउँदैनन्।
गुरुङ बैंकमा पुगेको करिब ४ मिनेटमै उनको रकम चोरी भएको हुन्छ।
सिसीक्यामेराको फुटेजमा रकम चोरी भएको देखिएपनि चोरी गर्ने व्यक्ति अझै पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीम ढकाल घटनाको अनुसन्धान भइरहेको बताउँछन्।
एसपी ढकालले भने, 'सिसीटिभीमा झुक्याएर रकम चोरी भएको देखिएको छ। तर झोलामा कति रकम थियो बुझ्दै छौं। पीडितले १७ लाख भएको दावी गरेका हुन्।'
पीडित गुरुङ इन्डियन आर्मी भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तलब भत्ता वापतको रकम एसबीआई बैंकबाट झिकेर उनी पैसा जम्मा गर्न एनएमबी बैंक पुगेका थिए। बैंकमा भएको क्यामेराको फुटेज मधुरो भएकाले प्रहरीलाई अनुसन्धानमा केही समस्या भएको एसपी ढकालले बताए।
प्रहरीले अहिले गुरुङको झोलामा उनले दावी गरिए जति पैसा भए/नभएको, रकम चोरिएको हो वा कसैले झुक्याउन यस्तो हर्कत गरेको लगायत विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।