PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

तीन 'हाइप्रोफाइल मर्डर केस'का 'सार्पसुटर' प्रहरी फन्दामा, अर्को व्यक्ति 'उडाउने' योजना यसरी पारियो असफल



सविन ढकाल

तीन 'हाइप्रोफाइल मर्डर केस'का 'सार्पसुटर' प्रहरी फन्दामा, अर्को व्यक्ति 'उडाउने' योजना यसरी पारियो असफल

काठमाडौः 'पहिले ढुङ्गाले हानेँ। गाडी रोकियो। अनि गोली हानेँ।'

घटना २०७४ असोज २३ गतेको हो। बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढेर कार्यालय जाँदै गरेका थिए निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुगमार गौचन। 

बानेश्वरको प्रयाग चोकमा गोली हानी गौचनको हत्या भएको एक वर्षपछि पक्राउ परेका ३१ वर्षीय अम्बरबहादुर रानाले गोली चलाउँदाको अवस्था यसरी बयान गरे। 

रानासहित रोशन बुढाथोकी, लोप्साङ भन्ने सोम तामाङलाई एसपी सोमेन्द्र राथौड नेतृत्वमा गएको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार भारतबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनै जनालाई महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

राना नेपाली सेनाका भगौडा हुन्। २०७२ सालमा उनी कालीध्वज गण इलाममा कार्यरत थिए। सेनामा रहँदा नै उनले हतियार चलाउन सिकेका थिए। राष्ट्रको रक्षाको लागि सिकेको ज्ञान रानाले गलत प्रयोग गर्न थाले। 

आपराधिक समूहमा सामेल भएपछि उनी 'सार्पसुटर'को रुपमा परिचित भए। 

२०७३ पुस ४ गते युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष रहेका दुर्गा तिवारीको मृत्यु हुने गरी हानिएको गोली, त्यसको तीन महिना पछि चैत २९ गते गौरीघाटमा गुन्डा नाइके दावा लामालाई घाइते हुने गरी हानिएको गोली र गौचनलाई गोली उनैले हानेको प्रहरीको भनाई छ। 

महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, 'तीनवटै घटनामा रानाले गोली चलाएको स्वीकार गरिसकेका छन्। घटना भएपछि उनी भारत तथा नेपालमा लुकिछिपी बस्ने गरेको देखिएको छ।'

राना गुन्डा नाइके समिरमान सिंह बस्नेतका विश्वासपात्रका रुपमा समेत रहेको खुलेको छ। गौचन हत्याको अभियोगमा अहिले समिरमान पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा छन्। उनकै निर्देशनमा गोली हानिएको बयान उनीहरुले दिएको एसएसपी सिंहले बताए।

महाशाखाले पक्राउ गरेका लोप्साङ भन्ने सोम तामाङ पनि समिरमान बस्नेत समूहका सार्पसुटर नै हुन्। लोप्साङ विदेशमा बसेर नेपालमा रहेका व्यक्तिलाई फोनमार्फत् फिरौती माग्ने गर्थे। तिवारी हत्या प्रकरणदेखि गुन्डा नाइके लामासम्मलाई गोली हानिएको जिम्मेवारी लोप्साङले फोन गर्दै लिएका थिए। प्रहरीलाई नै फोन गरेर घटनाको जिम्मेवारी लिएको बारे पनि अनुसन्धान हुने एसएसपी सिंहले बताए।

जेलबाट नै समिरमानको अपराध धन्दा, को थिए अर्को टार्गेटमा ?

गत मंसिरदेखि नख्खु कारागारमा रहेका समिरमान सिंहलाई केही साता अगाडि मुस्ताङ जेलमा सरुवा गरिएको थियो। चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार सारिएको हो।  तर समिरकी पत्नीले अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि उनलाई सर्वोच्च अदालतले इजलासमा उपस्थित गराउन आदेश दिएको थियो। रिट खारेज गरिए पनि त्यस यता उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। तर समिरले जेलभित्रबाट नै  अपराधिक गतिविधि गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।  

प्रहरीले सोमबार सार्वजनिक गरेका तीन जनाले आफूहरुले अहिले पनि समिरकै निर्देशनमा आपराधिक गतिविधि गर्ने गरेको बयान दिएका छन्। केही समयदेखि लोप्साङले फोन गरेर राजधानीका व्यापारी, ठेकेदारसँग फिरौती माग्ने गरेको एसएसपी धिरजप्रताप सिंहले बताए।

'अहिले पनि केही व्यक्तिसँग फिरौती मागेको खुलेको छ। केही व्यापारीहरुले हामीलाई आएर बताए पनि केही अझै डरत्रासले सम्पर्कमा आउनुभएको छैन,' एसएसपी सिंहले भने।

प्रहरीले नियन्त्रणमा लिएका तीन जना नेपालमा आपराधिक घटना घटाउने योजना अनुसार नेपाल छिरेको एक अनुसन्धान अधिकृतले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा ती प्रहरीले भने, 'एक दुई साताभित्र नै यिनीहरुले कुनै एक व्यक्तिलाई उडाउने योजना थियो। योजना सफल नहुँदा नै हामीले नियन्त्रणमा लिएका हौं।'

समिरमानले आफ्ना निकट गुन्डाहरुलाई सखाप पार्ने र आफ्नो गुन्डाराज चलाउने योजना बनाएका थिए। गुन्डा नाइके दावा लामालाई गोली हान्नुको एउटा कारण आफ्नो वर्चस्व देखाउनु पनि भएको एसएसपी सिंहको दावी छ। एसएसपी सिंह भन्छन्, 'उनी अरु गुन्डालाई सखाप पारेर आफ्नो गुन्डाराज चलाउन चाहन्थे।'

समिरमानलाई जेलबाट नै आपराधिक गतिविधि गर्न केही प्रहरीको समेत सहयोग रहेको अनुसन्धानमा खुलेको छ। 

समिरमानका मुख्य व्यक्ति पक्राउ परिसकेका छन्। तर पनि समिरमानले अन्य व्यक्तिलाई समेत प्रयोग गरेको देखिएको छ। एक प्रहरी अधिकृतले भने,' समिरले अन्य केटाहरु पनि परिचालन गरेको देखिन्छ। हामी त्यो नेक्सससम्म पुग्ने प्रयासमा छौं।'

सम्वन्धित समाचार
मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell