सर्लाहीः रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए।
आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उनले बताएका छन्। आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन्।
उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए। उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। रासस