PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मोटरसाइकलपछि अब अन्य सवारी पनि प्रदेशको आधारमा दर्ता, प्राविधिक तयारी एक सातामा सकिने



दिनेश खड्का

मोटरसाइकलपछि अब अन्य सवारी पनि प्रदेशको आधारमा दर्ता, प्राविधिक तयारी एक सातामा सकिने

काठमाडौँः यातायात व्यवस्था विभागले सबै किमिसका सवारीसाधन प्रादेशिक संरचना अनुसार दर्ता गर्ने तयारी थालेको छ। प्रदेश अनुसार सवारी साधन दर्ता गर्न विभागले प्राविधिक काम थालेको छ।

विभागका निर्देशक गोकर्ण उपाध्यायले देशैभर प्रदेशका आधारमा सवारीसाधन दर्ता सुरु गर्ने तयारी भइरहेको बताए। 'अञ्चल अनुसार दर्ता भएका सवारीसाधनहरुलार्इ प्रदेशमा दर्ता गर्न नयाँ प्रणाली बनाउनुपर्छ, यसका लागि हामी सफ्टवेयर अपग्रेड गर्दैछौँ', उनले भने, 'प्राविधिक टोलीले काम गरिरहेको छ ७/८ दिनमा सकिन्छ।'

असोज १६ गते बागमती अञ्चलस्थित साना तथा ठूला सवारी कार्यालयले मोटरसाइकल दर्तामा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेको भन्दै दर्ता रोकेका थिए। यही अड्चनलार्इ फुकाउन मन्त्रिपरिषद् बैठकले अञ्चलका आधारमा हुँदै आएको सवारी साधन दर्ता प्रादेशिक संरचना अनुसार गर्ने निर्णय गरेपछि विभागले सोही अनुसार प्रदेश मातहतमा दर्ता गर्ने तयारी सुरु गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्बन्धी पुरानो व्यवस्थालार्इ हेरफेर गरेर प्रदेशका आधारमा नम्बर प्लेट हुने व्यवस्था गरेको छ।

 

कस्तो हुनेछ नयाँ नम्बर प्लेट?

अहिलेको नम्बर प्लेटमा अञ्चलको संकेत, लट नम्बर र सवारी साधनको प्रकार र किसिमको संकेत उल्लेख गरी दुर्इ लाइनको दर्ता नम्बर रहेको छ। अब प्रदेश अनुसार दर्ता हुने सवारी साधनमा पहिलो लाइनमा प्रदेशको नाम र प्रदेश मातहतमा रहेका दर्ता कार्यालयको कोड नम्बर समेत हुनेछ। दोस्रो लाइनमा सवारी साधनको लट नम्बर र सवारी साधनको किसिम तथा प्रकार हुनेछ भने तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख गरिनेछ।

अगाडिपट्टि दुर्इ लाइन र पछाडिपट्टि तीन लाइनको नम्बर प्लेट हुनेछ। साथै सवारी साधन जनाउने (लट) अकं अहिले १ देखि ९९ सम्म मात्रै रहेको छ तर अब आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुने व्यवस्था गरिएको छ।

नामकरण भएको प्रदेशको पूरा नाम लेखिनेछ भने हुन बाँकी प्रदेशमा प्रदेश नम्बर मात्रै लेखिनेछ। नामकरण भएपछि सोही अनुसार नम्बर प्लेटमा लेखिनेछ। अन्य सवारी साधनको गाडीको हकमा पनि यही नियम लागू हुने विभागका निर्देशक उपाध्यायले जानकारी दिए। उनका अनुसार यो व्यवस्था सबै प्रदेशमा लागू हुनेछ।

प्रदेश नम्बर ३ मा सवारी साधन दर्ता गर्ने एउटा मात्रै कार्यालय रहेको छ। विभागले एउटा कार्यायल रहेको कार्यालयलार्इ ०१ कोड  दिएको छ।

प्रदेश दुर्इमा लहान,जनकपुर, वीरगंज गरी तीनवटा कार्यालय रहेका छन्। एकभन्दा बढी कार्यालय रहेका ठाउँमा ०१,०२ र ०३ क्रमशः कार्यालय संख्या अनुसार कोड हुँदै जानेछन्। यातायात व्यवस्था विभागले सबै कार्यालयलार्इ कोडसहित पत्राचार गरिसकेको जानकारी दिएको छ। अब दर्ता हुने सबै खालका सवारी साधनहरू प्रदेश अनुसार दर्ता हुनेछन्।

 

पुरानो नम्बर प्लेट के हुन्छ?

राजपत्रमा प्रकाशित सूचना अनुसार नयाँ सवारी साधन दर्ताका लागि मात्रै नभएर पुराना नम्बर प्लेट पनि प्रदेश अनुसार नै हुनुपर्ने देखिन्छ। तर यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालका अनुसार अहिले लाखौँ पुराना नम्बर प्लेट कै परिवर्तन गर्दा भद्रगोल हुन सक्ने भन्दै केही समयका लागि यथावत् राख्न लागिएको छ। तर बिस्तारै सबै सवारी साधन प्रदेश मातहतमा दर्ता हुनेछन्।

विभागका अनुसार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको विकल्प छैन। त्यस कारण बीचमा इम्बोस्ड नम्बर प्लेट आए त्यसलार्इ लागू गरिनेछ। सरकारले गत वर्ष इमबोस्ड नम्बर प्लेट कार्यान्वयन ल्याएको भए पनि अदालतमा मुद्दा परेपछि रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell