
काठमाडौंः उत्तरी छिमेकी चीनमा एकै पटक १८ देशका राष्ट्र/सरकार प्रमुखहरूले भ्रमण गर्न लागेका छन्। चीनले आयोजना गरेको पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन विश्वका विभिन्न देशबाट राष्ट्र तथा सरकार प्रमुखहरू चीनमा आउन लागेका हुन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनीहरू चीन आउन लागेका हुन्। सांघाइमा नोभेम्बर ५ देखि १० सम्म हुन लागेको एक्स्पोमा सहभागी हुनका लागि चेक रिपब्लिकका राष्ट्रपति मिलोस जमान, डोमाइकन रिपब्लिकका राष्ट्रपति डानिलो मेडिना, केन्याका राष्ट्रपति उहुरु केन्याता, लिथुआनियाका राष्ट्रपति डालिया ग्रिवाउसकाइट, पानामाका राष्ट्रपति जुआन कार्लोस भरेला, एल साल्भाडोरका राष्ट्रपति सान्चेज सेरेन र स्विस कन्फेडेसनका राष्ट्रपति अलाइन बेर्सेट बेइजिङ आउँदै छन्।
चिनियाँ विदेश मन्त्रालयलेले सोमवार पत्रकार सम्मेलन गरी एक्स्पोमा सहभागी हुने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको नाम सार्वजनिक गरेको हो। जस मध्ये क्युबाका राज्य परिषद् तथा मन्त्रिपरिषद्का अध्यक्ष मिगुएल डियाज कानेल, कुक आइल्याण्ड, क्रोएसिया, इजिप्ट, र हंगेरीका प्रधानमन्त्रीहरूसमेत चीन आउँदै छन्। त्यस्तै जर्जिया, लाओस, माल्टा, रुस र भियतनामका प्रधानमन्त्रीसमेत एक्स्पोमा सहभागी हुँदै छन्।
दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खानलेसमेत एक्स्पोमा सहभागी हुन चीन भ्रमण गर्दै छन्। उनको यो पहिलो राजकीय चीन भ्रमणसमेत हुने छ।
एक्स्पोमा सहभागी हुने राष्ट्र प्रमुख मध्ये एल साल्भाडोरका राष्ट्रपति सान्चेज सेरेन, डोमाइकन रिपब्लिकका राष्ट्रपछि डानिलो मेडिना, क्युबाका स्टेट काउन्सिल तथा मन्त्रिपरिषद्का अध्यक्ष मिगुल डियाजको राजकीय भ्रमण हुने छ। उनीहरू भोलि बुधवार नै चीन आइपुग्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। उनीहरूलाई चिनियाँ राष्ट्रपति सिले राजकीय भ्रमणका लागि निम्तोसमेत दिएका हुन्। उनीहरू ८ नोभेम्बरसम्म चीनमा रहने छन्।
त्यस्तै चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा पाकिस्तानका प्रधानमन्त्री खान र रसियाका प्रधानमन्त्री डिमित्रि आन्टोलोभिच मेडभेडेभको भ्रमणसमेत राजकीय हुने छ। उनीहरू नोभेम्बर २ मा चीन पुग्ने छन्। यी दुई नेता ७ नोभेम्बरसम्म चीनमा रहने छन्।
यो भ्रमणका क्रममा चिनियाँ तथा रसिया प्रधानमन्त्रीबीच २३ औँ नियमित प्रधानमन्त्रीस्तरीय बैठकसमेत हुने छ।
चीन भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सी, चिनियाँ प्रधानमन्त्री लीसहितका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने छन्।