काठमाडौँ : सोमबार बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको बेडमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ८० प्रतिशत सुधार भइसकेको दावी चिकित्सकहरुले गरेका छन्।
उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरिरहेका डाक्टर अरुण सायमिले मंगलबार साँझको स्वास्थ्य ब्रिफिङमा यस्तो दावी गरेका हुन्।
प्रधानमन्त्रीले डाक्टरहरुले आफूलाई पाता कसेर राख्नुभो भनेर ठट्यौलीमिश्रित गुनासो गरेको उनले बताए। सायमिका अनुसार प्रधानमन्त्रीले आफूलाई डिस्चार्ज गर्न आग्रह गरिरहेका छन्। तर चिकित्सकहरु भने अझै दुई तीन दिन प्रधानमन्त्रीलाई अस्पतालमै राख्ने सोचमा छन्।
अब केही दिन मान्छे भेटघाट र बाहिरको कार्यक्रममा सहभागी हुन रोक लगाउँदा संक्रमणको सम्भावना कम हुने उनले बताए।
खाना खानेदेखि शौचालय जानेसम्मका नियमित विषय र डाक्टरहरुसितको कुराकानी नर्मल भएको उनले बताए।
'छातीको संक्रमण र रगतको रिपोर्टले अवस्था सुधार भएको देखिएको छ', डा. सायमिले बताए, 'उहाँको आत्मबल पनि बढेको छ।'
प्रधानमन्त्रीले आजै प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा गरिएकाे आधारहीन प्रचारबाट प्रभावित नहुन पनि अनुरोध गरेका छन्।