PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

सम्पतिको लोभमा छिमेकीले नै गरे ६५ वर्षीयको हत्या, पक्राउ पर्नेमा एकै घरका तीन जना



राधेश्याम पटेल

सम्पतिको लोभमा छिमेकीले नै गरे ६५ वर्षीयको हत्या, पक्राउ पर्नेमा एकै घरका तीन जना

वीरगंजः बारा कलैयामा गत शनिवार ६५ वर्षीय वृद्ध नन्दालाल पटेलको हत्या अभियोगमा चार जना पक्राउ परेका छन्।

हत्याको अभियोगमा ४५ वर्षीय छिमेकी वीरेन्द्र पटेल, निजका छोरा वर्ष १९ का विशाल पटेल, वीरेन्द्रका बुवा वर्ष ६५ का बैजनाथ राउत कुर्मी गरी एकै घरका तीन जना पक्राउ परेका छन् भने अर्का बारा सिम्रौनगढ नगरपालिकाका रामअयोध्या दास रहेका छन्।

पक्राउ परेका चारै जनालाई आज बारा प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा कलैया उपमहानगरपालिका वडा नं २३ कोइरियाटोलाका वृद्ध नन्दालालको विभत्स हत्या छिमेकीकै मुख्य योजनामा भएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। भट्टराईका अनुसार धन सम्पति खाने लोभमा पटेलको हत्या भएको देखिएको छ।

दास र वीरेन्द्र दुबै मिली धारिलो हतियारले वृद्ध पटेलको घाँटी रेटी हत्या गरेको खुलेको र दुई जना सहयोगीको भूमिकामा देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जीतसिंह राठौरले उल्लेख गरे। 

उनले भने,‘जग्गा जमिन र धनसम्पति प्रसस्त भएको नन्दलालमा छोरा सन्तान कोही नभएकोले वीरेन्द्रले आफ्ना छोराको बिहे नन्दलालका नातिनीसँग गराएर हक खाने नियतमा देखिन्छ,नन्दलालले सो विवाहको प्रस्ताव अस्विकार गरेपछि ज्यान मार्ने योजना बनाएको देखियो।’

नन्दलाल पटेल जेठो र अम्बिका पटेल कान्छो भाइ गरी दुई दाजुभाइ छन्।नन्दलालको छोराछोरी छैनन् भने अम्बिकाको एक छोरा र ३ नातिनी थिए। जस मध्ये अम्बिकाको छोरा पनि विगत लामो समय देखि वेपत्ता छन्। मानसिक सन्तुलन गुमाएर वेपत्ता भएपछि तीन नातीनी मध्ये एकसँग वीरेन्द्रले आफ्नो छोरा विशालको विवाहको योजनामा थिए। तर नन्दलाल नमानेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell