PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विप्लवले तिहारपछि काठमाडौँमा जनसभा गर्ने, भारतमा हुँदैछ तयारी बैठक



बीपी साह

विप्लवले तिहारपछि काठमाडौँमा जनसभा गर्ने, भारतमा हुँदैछ तयारी बैठक

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले काठमाडौंमा जनसभा गर्ने भएको छ। मंसिर ८ गते हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने भनिएको छ।

विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले पहिलोपोस्टसँग भने, ‘मंसिर ८ गते हाम्रो पार्टीले विशाल जनसभा गर्दैछ। अहिले प्रचारप्रसारमा जुटेका छौं। विभिन्न जिल्लाबाट एक लाखको संख्यामा कार्यकर्ता उतार्ने तयारी छ।’

सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग वार्ता गर्न अस्वीकार गरेका विप्लवले जनसभाबाटै आफ्ना मागहरु राख्ने जनाइएको छ।

ढकालका अनुसार सभालाई पार्टी महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उनका अनुसार महासचिव विप्लव सीधै सभा मै सहभागी हुनेछन्।

सरकारले वार्तामा ल्याउनका लागि विप्लव समूहका नेताहरुलाई रिहा गर्दै अधिकांश मुद्दाहरु फिर्ता लिएको वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले बताउँदै आएका छन्। तर विप्लव समूहले औचित्यहिन वार्ता नगर्ने भन्दै आएको छ।

नेकपा स्रोतका अनुसार जनसभाका लागि पार्टीको तयारी बैठक भारतमा हुँदैछ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा भइरहेको बैठकमा पार्टीका नेताहरु सहभागी भएका छन्।

जनसभा कहाँ गर्ने भन्नेबारे पार्टीले प्रचारका लागि छापेको पोस्टरमा केही उल्लेख छैन। पोस्टरमा मंसिर ८ गते काठमाडौँ जाऔँ, जनसभामा सहभागी बनौँ मात्र लेखिएको छ। पोस्टरमा कम्ब्याट ड्रेस लगाएका हतियारसहितका व्यक्तिको चित्र पनि राखिएको छ। 

जनसभा काठमाडौँको खुलामञ्चमा गर्ने तयारी भएको भनिए पनि हाल खुलामञ्च खाली छैन। खुलामञ्चको आधा भाग बसपार्कले ओगटेको छ भने आधा भागमा दरबार हाइस्कूलका विद्यार्थीहरु पढ्नका लागि अस्थायी संरचना बनाइएको छ। खुलामञ्चको मञ्चसहितको थोरै भागमात्र अहिले खाली छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell