PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

रेखाको 'मालिका': बलात्कारविरुद्धको अभियान, पात्रका लागि गर्नुपर्‍यो दुई महिना संघर्ष



रीना मोक्तान

रेखाको 'मालिका': बलात्कारविरुद्धको अभियान, पात्रका लागि गर्नुपर्‍यो  दुई महिना संघर्ष

'मालिका'को लागि हिरोइन खोज्ने अडिसन चलिरहँदा अभिनेत्री रेखा थापा ताप्लेजुङको पाथीभरा मन्दिरमा थिइन्। मेसेन्जरमा नरबहादुर कार्कीले एक जना युवतीको फोटो पठाए।

मन्दिरबाट तल ओर्लंदै गर्दा रेखाले मेसेन्जर खोलिन्। फोटोमा थिइन्। कमला वली।

उनलाई कमलाको अनुहारले तान्यो। कत्ति दिनदेखि अडिसन दिन आएका युवतीमा खोजिरहेको पात्र उनले कमलामा देखिन्। त्यसपछि उनी कमलालाई भेट्न जाजरकोट पुगिन्।

रेखा भन्छिन्,'मैले गाउँघरमा सुनेकी थिएँ, निधारमा खत भएको मान्छे अभागी हुन्छ। कमलाको निधारमा पनि खत छ। म चाहन्थेँ उसलाई भाग्यमानी साबित गरुँ।'

तर फिल्मको प्रस्ताव लिएर जाँदा कमला तयार भइनन्। कमलालाई कन्भिन्स गर्न झण्डै २ महिना लागेको रेखा सुनाउँछिन्। उनको परिवारले पनि रेखा थापाको नाम मात्र सुनेका थिए, भेटेका थिएनन्।

‘सहरका मान्छेले बेच्छन् भन्ने भ्रम रहेछ कमला र उसको परिवारमा। वन तथा वातावरणमन्त्री शक्ति बस्नेत लगायत त्यहाँका सिडिओलाई भन्न लगाएर कन्भिन्स गरेँ' रेखा भन्छिन्।

फिल्मका लागि तयार भए पनि फिल्ममा काम गराउन निकै गाह्रो भएको बताउँछिन् उनी। मुख्य समस्या भाषामा थियो। उनी पश्चिमेली भाषामात्र बोल्थिन् र बुझ्थिन्। त्यसैले कमला कसैसँग घुलमिल हुँदैन थिइन्। बिस्तारै बानी भयो।

रेखा भन्छिन्, 'फिल्ममा म नयाँ सँगै काम गर्छु। मलाई अभिनय सिकाउन समय लाग्दैन। उनीहरूले कसरी अभिनय सिक्छन् भन्ने थाहा थियो। कमला जस्तो छ त्यस्तै निकाल्छु भनेर सोचेकी थिएँ। पछि बिस्तारै उनले अभिनय गरिन्।'

 

पुलिस स्टेसनमा कमला

रेखाभन्दा पहिला फिल्मकै कार्यकारी निर्माता नरबहादुरले कमलालाई भेटेका थिए। त्यो पनि पुलिस स्टेसनमा।

'कमला एउटा घटनासँग जोडिएर आएकी थिइन्। मलाई उक्त घटना र कमलाको अनुहारले तान्यो' रेखाले भनिन्।

घटनाबारे भने रेखा खुल्न चाहिनन्।

कमलको ठाउँमा छोरीलाई आज पनि कसरी हेरिन्छ भन्ने विषयमाथि फिल्म बनेको छ।

‘बालविवाह, महिला सशक्तिकरण नै मालिकाको कथा हो’, उनले भनिन्' 'मालिकामा बलात्कारको कथा छ। जसमा बलात्कारीले सजाय पाउँछ।'

मिस कोशीदेखि मिस नेपालसम्म भाग लिँदा रेखालाई सधैँ नारीसम्बन्धी प्रश्न सोधिन्थ्यो। यस्तै प्रश्नहरूले उनमा महिला सशक्तिकरणको कुरा गढेर बस्यो। मिस कोशीको स्टेज सम्झिइन्, 'नारीसँग सम्बन्धित प्रश्न सायद तपाईँलाई नारीको कुन रूप मनपर्छ भन्दा मैले आमाको रूप भनेको थिएँ।'

छोरीका निम्ति स्वर्णिम नेपालसँग जोडिएकी रेखाका कारण कमलाले पहिलोपटक गाडी चढिन्। काठमाडौं देखिन्। 'उनको परिवारले गाडी देखेका नै थिएनन्'।

रेखाले कमलालाई मालिकोको 'हिरो' भनेर सम्बोधन गर्दै आएकी छिन्। 'कमलाभित्र एउटा कथा छ। उसलाई मैले हिरो बनाएको छु।'

कमलाजस्ता पात्रमा चेतना आयो भने लाखौँ नेपालीमा चेतना आउने बताउँछिन् रेखा। नेपाली समाजमा अहिले पनि कमला जस्ता पात्र सर्वत्र रहेको बताउँछिन्।

'म सबै ठाउँमा कमला देख्छु। हरेक घरमा बुहारी, छोरी श्रीमतीको रूपमा कमला छन्।

भनिन् 'त्यस कारण त निडर भएर बाँच्न सिक भन्छु। यहाँ मालिका बन्न दिइँदैन। आफ्नो आवाजलाई बुलन्द गराएर बाँच भन्छु म। आत्मनिर्भर हुँदाहुँदै पनि कमला बन्नुपर्ने बाध्यता छ यो देशमा'।

फिल्ममा रेखाको पनि अभिनय छ। फिल्मको कथा नरबहादुर र रेखाले मिलेर लेखेका हुन्। रेखा निर्देशित मालिका कार्तिक १६ देखि प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell