PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

टर्कीमा ४२ महिनामै कोइला खानीमाथि तयार भयो विश्वकै ठूलो विमानस्थल, यसरी भयो सम्भव 



पहिलोपोस्ट

टर्कीमा ४२ महिनामै कोइला खानीमाथि तयार भयो विश्वकै ठूलो विमानस्थल, यसरी भयो सम्भव 

टर्कीले महत्वाकांक्षी परियोजनाका रुपमा सुरु गरेको विश्वकै सबैभन्दा ठूलो एयरपोर्ट आंशिक सञ्चालनमा ल्याएको छ। टर्कीका राष्ट्रपति रिसिप टेयिप एर्डोगानले इस्तानबुल विमानस्थलको पहिलो फेजको उद्घाटन गरेको इन्डिपेन्डेन्टमा उल्लेख छ।

न्यूयोर्कको म्यानहटन टापुभन्दा पनि ठूलो क्षेत्रफलमा फैलिएको यस विमानस्थलमा पहिले कोइला खानी थियो। विमानस्थल इस्तानबुलको अर्नाभुतकोय जिल्लामा पर्दछ। विश्वकै ठूलो विमानस्थल बनेको यस क्षेत्रलाई महत्त्वपूर्ण हब मानिएको छ।

विमानस्थल उद्घाटन गर्दै राष्ट्रपति एर्डोगानले विमानस्थल उनको नामबाट राखिने चर्चालाई अन्त्य गर्दै विमानस्थलको नाम इस्तानबुल विमानस्थल रहने स्पष्ट पारे।

‘इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर मात्र होइन सबैभन्दा महत्त्वपूर्ण ब्रान्ड हो।’ दुई समुन्द्रका बीचमा अवस्थित सुन्दर भूमि भन्दै उनले इस्तानबुललाई पृथ्वीकै ‘सबैभन्दा सुन्दर ठाउँ’  भने।

धेरै व्यवधान पार गर्दै विमानस्थल निर्माण सम्पन्न भएको उनले स्मरण गरे।

‘प्रस्ताव गरिएको समयमा विमानस्थल बन्ला नबन्ला अन्योल थियो। केही आतंकबादी हमला, सिरिया युद्ध तथा सन् २०१६ को 'कु'को प्रयासले विमानस्थल निर्माणमा पटक-पटक बाधा पारेको थियो। तर हामीले यो परियोजना सम्पन्न गर्‍यो’ राष्ट्रपतिले घोषणा गरे।

‘हामी अहिले यसको पहिलो चरण लन्च गरिरहेका छौँ। हामीले इस्तानबुल विमानस्थल आफ्नो देशका लागि बनाएका होइनौँ। यो हामीले यस क्षेत्र र पुरै विश्वका लागि दिन लागेको ठूलो उपहार हो’ उनले भने।

एर्डोगानकै तीव्र प्रयास र महत्वाकांक्षाको परिणामस्वरूप यो विमानस्थल बनेको हो। ८ करोड १० लाख जनसंख्या रहेको युरोप र एसियाको बीचमा पर्ने टर्कीलाई उनले विश्वकै ‘शक्ति’ बनाउने अठोटकासाथ काम गरिरहेका छन्।

उनले भने ‘यो विमानस्थलमात्र होइन हाम्रो विजयको स्मारक समेत हो।’


११ अर्ब डलरको लगानीमा बनेको विमानस्थल टर्कीकै इतिहासमा सबैभन्दा खर्चिलो सरकारी परियोजना हो। यो विमानस्थल इस्तानबुलको मुख्य शहरभन्दा उत्तरमा रहेको ब्ल्याक सिको किनारामा अवस्थित छ। हाल इस्तानबुलमा सञ्चालित अतातुर्क विमानस्थल र नयाँ इस्तानबुल विमानस्थलको दुरी करिब ३५ किलोमिटर छ।

टर्की गणतन्त्रका रूपमा स्थापना भएको ९५ वर्ष पूरा भएको अवसरमा विमानस्थलको उद्घाटन भएको हो। तर उद्घाटन भए पनि नियमित संचालनका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ। यस वर्षको अन्त्यसम्ममा विमानस्थलबाट तीनवटा डोमेस्टिक र दुईवटा अन्तर्राष्ट्रिय रुटहरूमा मात्र उडान हुनेछ।

इस्तानबुलकै प्रमुख अतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान तथा अन्य प्राविधिक उपकरणहरू नयाँ स्थानमा सारिएपछि मात्र आंशिक सञ्चालनमा ल्याइने बताइएको छ।

इस्तानबुलको प्रमुख विमानस्थलका रूपमा अतातुर्क विमानस्थल ६५ वर्षअघि सञ्चालनमा ल्याइएको थियो भने २१ वर्षअघि यसको पुनर्निर्माण गरिएको थियो। विमानस्थलको नाम टर्कीलाई गणतन्त्रका रूपमा स्थापना गरेका मुस्तफा केमाल अतातुर्कका नामबाट राखिएको हो। उनैले टर्कीलाई ओट्टोमन साम्राज्यबाट अलग गणतन्त्रका रुपमा टर्कीको स्थापना गरेका थिए। अब अतातुर्क विमानस्थल नयाँ विमानस्थलमै स्थानान्तरण हुनेछ।

इस्तानबुलकै अर्को सबिहा गोक्सेन विमानस्थल भने सञ्चालनमा रहिरहने बताइएको छ।

एक समय इस्तानबुलका मेयर समेत रहेका राष्ट्रपति एर्डोगान आफूलाई टर्कीका मास्टर बिल्डर भन्न रुचाउँछन्।

उनकै जस्टिस एण्ड डेभलपमेन्ट पार्टीको नेतृत्वमा टर्कीमा बृहत् विकासका कार्यक्रम सुरु भएका हुन्। उनले सयौँ सपिङ सेन्टर,  अपार्टमेन्ट तथा टावरहरुकासाथै विभिन्न उल्लेखनीय सार्वजनिक महत्त्वका विकास परियोजनाहरू सुरु गरेका थिए। नयाँ विश्वविद्यालयहरू, मस्जिदहरू, पुल, टनेल, अस्पताल तथा रेलवे परियोजनाहरू उनकै भिजनका कारण सम्भव भएको मानिन्छ। 

केही हप्ताअघि मात्रै एर्डोगानले महत्त्वपूर्ण मानिएको इस्तानबुल मेट्रो लाइन बिस्तार परियोजनाको उद्घाटन गरेका थिए।

अर्कोतर्फ वातावरणविद्, शहरी विकास विज्ञ तथा अर्थविद्हरूले भने उनको यो विकासको रफ्तारको आलोचना समेत गरेका छन्।

यसबाट देशको पर्यावरणलाई असर पर्ने तथा देश वैदेशिक ऋणको खाडलमा पर्ने भन्दै उनीहरूले यसको तीव्र विरोध गरिरहेका हुन्।

सन् २०१३ मा गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार विमानस्थल क्षेत्रमा २५ लाख १३ हजार ३४१ रुख  थिए। ६ लाख ५७ हजार ९५० रुख  काट्नुपर्ने भनिएको थियो। यसै गरी त्यस क्षेत्रको १८ लाख ५५ हजार ३ सय ९१ रुख नयाँ स्थानमा सार्ने पनि उल्लेख थियो।

तर टर्कीको वन तथा जल व्यवस्थापन मन्त्रालयले कति मात्रामा रुख काटिएको र कति रुखहरू स्थानान्तरण गरिएको भन्नेबारे निर्माण सम्पन्न भएपछि मात्र सार्वजनिक गरिने बताएको छ।

नयाँ विमानस्थल उद्घाटनका दिन सरकार पक्षका मिडियाहरूले ‘गौरवको दिन’ भनेर समाचार प्रकाशन गरेका थिए भने विरोधी मिडियाहरूले विश्वकै १५ औँ व्यस्त विमानस्थल अतातुर्क बन्द हुने विषयलाई प्रमुखता दिएका थिए। 

लेफ्टिस्ट पत्रिका बिरगनले आफ्नो हेडलाईनमा ‘देशकै इतिहासको सबैभन्दा ठूलो क्लोजर’ भन्दै अतातुर्क विमानस्थल बन्द हुने विषयलाई प्रमुख रूपमा छापेको थियो। 

विमानस्थलको पहिलो फेज उद्घाटन हुँदै गर्दा न्यूयोर्कमा रहेको एडभोकेसी समूह ह्युमन राइट्स वाचले गत महिना विमानस्थलबाट पक्राउ परेका मजदुर नेता तथा कार्यकर्ताहरूलाई रिहा गर्न माग गरेको छ।

विमानस्थल निर्माणमा खटिएका कामदारको ज्यालाबृद्धि तथा कार्यस्थलको अवस्था सुधारको माग गर्दै प्रदर्शन गरेका मजदुरहरूलाई पक्राउ गरिएकोबारे वाचले विज्ञप्ति जारी गरेको हो। 

विमानस्थलमा २ लाख कामदार खटिएका छन् जसमध्ये ३० जनाको कामकै सिलसिलामा निधन भएको व्यवस्थापनले जनाएको छ। ४२ महिनाको निर्माण अवधिमा ३८ जना कामदारको मृत्यु भएको श्रमिक नेताहरूले दाबी गरेका छन्।

‘राष्ट्रपति एर्डोगानको नयाँ मेगा प्रोजेक्टको पर्दा पछाडि ३० जना मजदुर र मजदुर नेता जेलमा छन्’ -ह्युमन राइट्स वाचक टर्की डाइरेक्टर एमा सिनक्लेयर वेबले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ‘उनीहरूलाई तत्काल रिहा गरियोस्। उनीहरूमाथि लगाइएको आरोपहरू फिर्ता होस् तथा प्रदर्शन गरेकै कारण कामबाट निकालिएकाहरूको पुनर्स्थापना होस्।’

विमानस्थलका सिइओ हुसेन कादरी सामसुनलुले मजदुरका मुद्दाहरूमा व्यवस्थापन गम्भीर रहेको र उनीहरूले माग गरेका विषयमा सम्बोधन तथा सुधारका काम थालिसकिकएको बताए।

‘हामीले मजदुरले उठाएका मागहरूको सम्बोधन थालिसकेका छौँ’ उनले भने ‘म सधैँ शान्तिपूर्ण तवरले उठाइएका मागहरूकै पक्षमा छु उनीहरूले माग गरे र मैले सुनेँ।’

सामसुनलुले टर्किस एयरलाइन्सको सफ्ट ओपनिङबाट विमानस्थलमा सम्भावित समस्याहरूको पहिचान गर्न सजिलो हुने बताए। अतातुर्क विमानस्थल सारिनुअघि नै कुनै पनि समस्याहरू देखिएको खण्डमा समाधान गर्न सजिलो हुने उनको भनाई छ।

विमानस्थल सारिनु ‘बृहत् लजिस्टिकल अपरेसन’ भएको र यस अवधिलाई ‘डकुमेन्टेसन’ गरेर राखिने बताइएको छ।

शहरभन्दा २० माइल पर रहेको विमानस्थलबाट यात्रुहरू ओहोरदोहोरका लागि मेट्रो लाइन सञ्चालनमा आउन थप २ वर्ष लाग्नेछ। यस विमानस्थललाई मेट्रो लाइनले जोड्नुअघि सटल बसहरू सञ्चालनमा ल्याइने बताइएको छ। 

ब्ल्याक सी नजिकै रहेको टर्मिनलबाट शहरका विभिन्न १८ वटा लोकेसनहरुमा सटल  बस चलाइनेछ।

नयाँ एयरपोर्टले वार्षिक २० करोड यात्रुलाई ह्याण्डल गर्ने बताइएको छ। यो संख्या एटलान्टाको हार्ट्स्फिल्ड ज्याक्सन विमानस्थलको भन्दा दोब्बर हो।

टर्कीका पाँचवटा ठूला र राजनीतिक नेतृत्वसँग जोडिएका ठेकेदार कम्पनीहरूले यस परियोजनाको निर्माण गरेका हुन्। यो परियोजना ‘बिल्ड-अपरेट-ट्रान्सफर’ मोडेलमा बनेको हो जसअनुसार आगामी २० वर्षसम्म ठेकेदार कम्पनीले यस परियोजना सञ्चालन गर्नेछन्। यस अवधिमा उनीहरूले देशलाई २५ अर्ब डलर भाडा बापत तिर्नेछन्।

विमानस्थलको टर्मिनलहरू ओट्टोमन युगका मस्जिदहरू जस्तै गरी डिजाइन गरिएको छ। जसलाई लण्डनस्थित फर्म ग्रिमसअ ग्लोबलले तयार पारेको हो।

पहिलो फ्लाईटका रुपमा भोलि बुधबार विमानस्थलबाट राजधानी सहर अंकारासम्म उडान हुने बताइएको छ।

विमानस्थलमा २२ हजार क्यामेरा सर्भिलियन्स सिस्टम तयार पारिएको छ। विमानस्थलमा विश्वकै सबैभन्दा ठूलो ५३ हजार वर्ग मिटरको ड्युटी फ्रि कम्प्लेक्स तयार हुनेछ भने ४२ किलोमिटर लामो ब्यागेज ह्याण्डलिङ सिस्टम रहेको छ।  विमानस्थलमा २ लाख २५ हजार कर्मचारी हुनेछन्।

पहिलो फेजको सञ्चालनमा विमानस्थलमा वार्षिक रूपमा ९ करोड यात्रुहरू वार्षिक रूपमा ३ सय ५० वटा डेस्टिनेसनमा उडान गर्ने अपेक्षा गरेको छ।

थप दुई फेजहरुको निर्माण सम्पन्न भए पनि विमानस्थल २० करोड यात्रुहरू ओहोरदोहोर गर्ने क्षमताको हुने बताइएको छ।

यस विमानस्थलले टर्कीको राष्ट्रिय ध्वजाबाहक टर्किस एयरलाइन्सलाई पनि निकै फाइदा हुने अपेक्षा गरिएको छ। हाल कम्पनीले इमिरेट्स, कतार तथा इत्तिहाद एयरलाइन्ससँग प्रतिस्पर्धा गर्दै आएको छ।

सोमबार मात्रै टर्किस एयरलाइन्सले एसियाली शहरहरुमा थप सेवा बिस्तार गर्न हङकङ एयरलाइन्ससँग साझेदारीको घोषणा गरिसकेको छ।

न्यूयोर्क र सांघाइबाट इस्तानबुल पुग्न हवाइजहाजबाट ९ घण्टा लाग्छ। दुरीको यही सकारात्मक पक्षका कारण  इस्तानबुल विश्वको हब बन्न सक्ने अर्थविदहरुले विश्लेषण गरेका छन्।

एक विज्ञका अनुसार विश्वका ८० प्रतिशत जनसंख्या ११ घण्टाको फ्लाइटमा इस्तानबुल पुग्ने दुरीमा रहेको बताए।

‘यस विमानस्थलबाट हामी एसिया, युरोप र मध्यपूर्वको सबै क्षेत्रबाट विश्वलाई निकट ल्याउन सक्षम हुनेछौँ।’ विमानस्थलका सिइओ सामसुनलुले भने ‘हाम्रो चुनौती सबैभन्दा ठूलो बन्नु मात्र होइन, सबैभन्दा उत्कृष्ट बन्नु हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell