.jpg)
नवलपरासी : एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुँदैछ। सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ।
प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए।
वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ। प्रतियोगिताको विजेताले नगद चार लाख ९९ हजार ५५५ पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार हात पार्नेछ। उपविजेताले नगद दुई लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १० हजार प्रदान गरिनेछ। गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ। रासस