पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिगमा पहिलो जित हात पारेको छ। सुरुवाती दुई खेलमा पराजित भएको चितवनले बुधवार धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हरायो।
चितवनलाई पहिलो जित दिलाउन ब्याटिङमा हरी शंकर शाह र अनिल कुमार शाह तथा बलिङमा करण केसी र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे। हरी शंकरले अर्धशतक बनाए भने पटेलले ४ विकेट लिए।
पहिलो जितपछि चितवनले ३ खेलबाट २ अंक जोडेको छ। ३ खेल नै खेलेको धनगढीको पनि एक जित र दुई हारपछि २ अंक छ। सोमपाल कामीको बुटवल ब्लास्टर्स ४ अंकसहित शीर्ष स्थानमा छ भने सन्दीप लामिछानेको विराटनगर लगातार ३ खेल हार्दै पूछारमा छ।
पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले हरीशंकर र अनिलको शतकिय साझेदारीपछि ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि धनगढी १६.२ ओभरमा ६७ रनमै अलआउट भयो।
चितवनका लागि हरीशंकर र अनिलले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरेका थिए। हरीशंकरले सर्वाधिक ५३ तथा अनिलले ३७ रन बनाए। स्मिथ पटेलले २४ र कप्तान पारस खड्काले १९ रन जोडे भने सन्नी पटेलले नटआउट २६ रन बनाए।
धनगढीका लागि पिटर ट्रेगोले २७ तथा योगेन्द्र सिंह कार्कीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। धनगढीलाई अलआउट गर्न चितवनका सन्नी पटेलले ४ विकेट लिए। उनले ३.२ ओभरमा ८ रन खर्चे। यस्तै ३ ओभर बलिङ गरेका करण केसीले २१ मेडन राख्दै ५ रन मात्र खर्चेर १ विकेट लिए। यस्तै भुवन कार्की र स्मिथ पटेलले २-२ विकेट लिए।