
काठमाडौं: 'आज हाम्रो भेट भाको दिन'बोलको गीत एक समय दर्शकले अत्याधिक रुचाएका थिए। दशक पहिले प्रदर्शनमा आएको फिल्म 'ज्वाला'को यस गीतमा बुद्धवीर लामाको शब्द र शिलाबहादुर मोक्तानको संगीत छ। अहिले यो गीतको रिमेक बनेको छ।
फिल्म 'द ब्रेकअप' टिमले गीतलाई रिमेक गरेको हो। आशा भोस्ले र उदितनारायण झाको स्वर रहेको गीतको रिमेकलाई विराज गौतम र मेलिना राईले गाएका छन्। 'ज्वाला' कै कलाकार सरोज खनालले रिमेकमा पनि अभिनय गरेका छन्।
गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। रिमेकमा फिल्मका मुख्य कलाकार खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की फिचर्ड छन्।
हेमराज बिसीको निर्देशनमा बनेको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ। नेपाल र अष्ट्रेलियामा फिल्मको छायाँकन गरिएको बताइएको छ। फिल्म पौष २७ गतेदेखि प्रदर्शन हुनेछ।