
विराटनगरः प्रदेश नं १ सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ।
बैठकले आयोगकाे उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ।
बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताए।
यस्तै बठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरका रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ।
त्यसका लागि संघीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ। बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ। साथै कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंसेवक परिचालन कार्यक्रम –२०७५ स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ।