PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सङ्गठनभित्र रहेका 'गधा'हरू पहिचान गरेर हटाइन्छः नेपाल प्रहरी



पहिलोपोस्ट

सङ्गठनभित्र रहेका 'गधा'हरू पहिचान गरेर हटाइन्छः नेपाल प्रहरी

काठमाडौँ: केही समयदेखि प्रहरी संगठनको आलोचना भइरहेकाले संगठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले संगठन सुधारको योजना थालिएको बताएका हुन्। एसएसपी सुवेदीले संगठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै संगठनको बदनाम हुने वातावरण सृजना भएको दाबी गरे।

एसएसपी सुवेदीले भने,'एक अमुक व्यक्तिको गल्तीले संगठन नै बदनाम हुने अवस्था आयो। व्यक्तिको गल्तीलाई संगठनले गरेको गल्तीको रूपमा नहेरि दिनुहोला।' एसएसपी सुवेदीले संगठननै बदमास नभएर व्यक्ति मात्र बदमास भएको भन्दै संगठनको बचाउ गरेका थिए।

३३ किलो  सुन प्रकरण, निर्मला हत्याकाण्ड लगायत विषयमा प्रहरी आलोचित हुँदै आएको छ। संगठनभित्र रहेर कुनै व्यक्तिले गलत गरे त्यस्ता व्यक्तिलाई कारबाही गरिने एसएसपी सुवेदीले बताए। गैरव्यवसायिक काम गर्ने प्रहरी कर्मचारीलाई गधाको संज्ञा दिँदै त्यस्ता व्यक्तिलाई हटाइने एसएसपी सुवेदीले बताए। एसएसपी सुवेदीले भने, 'सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन। गधाको पहिचान गरी हटाइएको छ। कारबाही भएका छन्।'

गत साउन १० गते कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको लापरबाही भएको भन्दै प्रहरी सबैभन्दा धेरै आलोचित हुँदै आएको छ। निर्मला प्रकरण अनुसन्धानमा लापरबाही गर्ने  केही प्रहरी निलम्बनमा परेका छन्। एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाइसकिएको छ। एसएसपी सुवेदीले संगठनभित्र खराब काम गर्ने प्रहरीलाई खराब र राम्रो काम गर्ने प्रहरीलाई राम्रो नै भनेर समाचार लेख्न समेत आग्रह गरेका थिए।

समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको र सबैलाई सहयोग गर्न समेत प्रहरीले आह्वान गरेको छ। समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रममा ७५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडा, २ हजार ५ सय ४५ प्रहरी इकाई, ३६ हजार विद्यालय, १० हजार सामाजिक सं-सस्था  ७५ लाख विद्यार्थी करिब ४ लाख शिक्षक र ७५ हजार प्रहरी माझ पुग्ने विश्वास प्रहरीले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell