काठमाडाैँः सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा पहिलो जित हात पारेको छ। यसअघि लगातार तीन खेल हारेको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो अंक जोडेको हो।
लगातार दुई खेल जितेर उत्कृष्ट खसुरुवात गरेको सोमपाल कामीको टोली बुटवलको भने यो पहिलो हार हो। १४१ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।
बुटवललाई जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो। तर किशोर महतोले अन्तिम ओभरमा बुटवलका सिद्धान्त लोहनीको विकेट लिनुका साथै मेडन राखेपछि विराटनगरले पहिलो जित हात पारेको हो।
४ खेलबाट एक जितपछि २ अंक जोडेको विराटनगरले शीर्ष तीनमा रहने सम्भावना समेत कायम राखेको छ। चितवन राइनोज र धनगढी ब्लुज समान २ अंक जोडेपनि विराटनगर अझै अंक तालिकामा पुछरामा छ।
बुटवल हारेपछि अब काठमाडौँ रोएल्समात्र प्रतियोगितामा अपराजित रहेको छ। काठमाडौँले दुई खेल जितेको छ। हारपछि पनि राम्रो रनरेट रहेकाे बुटवल शीर्ष स्थानमा यथावत छ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले विदेशी खेलाडी मोहम्मद जैद आलमको अर्धशतककाे मद्दतमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो। जैदले ४५ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७२ रन बनाए। यस्तै प्रदिप ऐरीले ४१ रन बनाए। बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकेनन्। बलिङमा बुटवलका ललित सिंह भण्डारीले २ विकेट लिए।
मध्यम स्कोर पछ्याएकाे बुटवलले नियमित अन्तरमा विकेट गुमाउँदा पहिलो हार बेहोर्नुपर्यो। बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे। तर १८औँ ओभरको पहिलो बलमा भीम रनरआउट भएपछि बुटवलले लय गुमाएको थियो। भीमले ४२ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै सागर पुनले २९ शंकर रानाले २३ तथा सिद्धान्त लोहनीले १५ रन जोडे।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र किशोर महतोले २-२ विकेट लिए।