PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

निर्मलाको न्यायका लागि धनगढीमा पुनः आन्दोलन शुरु, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापनपत्र 



एम बम

निर्मलाको न्यायका लागि धनगढीमा पुनः आन्दोलन शुरु, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापनपत्र 

कैलालीः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महिला अधिकारकर्मीहरुले पुनः आन्दोलन शुुरु गरेका छन्। दशैँका लागि भनेर बीचमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीहरुले पुनः आन्दोलन थालेका हुन्।
 
नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीको संयोजकत्वमा बुधबार धनगढी आइपुगेको महिला अधिकारकर्मीको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। 

ज्ञापनपत्र बुझाउनुअघि महिला अधिकारकर्मीहरुले प्रदेश सरकार, केन्द्र सरकार, गृहमन्त्री र मुख्यमन्त्री विरुद्ध नाराबाजी गरेका थिए। निषेधित क्षेत्र ताेड्‍दै मुख्यमन्त्री कार्यालयको गेटदेखि कार्यालय प्रवेशद्धारसम्म समेत पनि उनीहरुले नाराबाजी गरे।
 
ज्ञापनपत्र निर्मलाका बुवा यज्ञराज पन्त, कान्छी आमा लक्ष्मी पन्त, दिदी मनिसा पन्त र भाइ मोहित पन्तसहित महिला अधिकारकर्मीहरुले संयुक्त रुपमा मुख्यमन्त्रीलाई बुझाएका थिए। मुख्यमन्त्रीसँग उनीहरुले सरकार निरीह बनेर बसेको भन्दै आक्रोश व्यक्त गरे। 

तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने सरकार सक्रिय रुपमा घटनाको सत्य तथ्य छानविनमा लागिपरेको दावी गरे। उनले भने,‘हामी केन्द्र सरकारसँग समन्वय गर्ने कुरा होस् वा अन्य अनुसन्धानको पाटामा होस्, निरन्तर लागि परेका छौँ।’ उनले हत्यारा छिटै पत्ता लगाउने आश्वासन पनि दिए। 

गत साउन १० गते साथीको घर जान्छु भनेर गएकी कञ्चनपुरको भिमदत्त नगरपालिका २ की निर्मलाको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनाको ९८ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell