
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमको नियमित सदस्य। घरेलु क्रिकेटका राम्रा खेलाडी। पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडीमध्ये एक। उपयोगी अलराउण्डर।
युवा खेलाडी मोहम्मद आरिफ शेखको परिचय हो यो। आरिफलाई लिन पिपिएलको अक्सनमा सबै टिमले तँछाडमछाड गरेका थिए। उनलाई टिममा राख्न पाए टिम बलियो हुने विश्वास सबैको थियो।
हुन पनि आरिफले यसअघि भएका घरेलु टी-२० लिगहरुमा राम्रो प्रदर्शन गरेका थिए। एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि जितिसकेका आरिफले पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिगमा भने सोचेजस्तो खेल खेल्न सकिरहेका छैनन्।
अझ अर्को रोचक तथ्य के छ भने आरिफले पिपिएलको चार खेलमा कुनै रन बनाउन सकेका छैनन्।
उनी अलराउण्डर हुन् र राइटआर्म मिडियम बलिङ समेत गर्न सक्छन्। तर राष्ट्रिय टिमका कप्तान पारस खड्काको चितवन राइनोजबाट खेलिरहेका उनले कुनै पनि खेलमा बलिङ गरेका छैनन्।
चितवनले लिग चरणमा चार खेल खेल्दा आरिफले तीन खेलमा ब्याटिङका लागि क्रिज जाने मौका पाए। दुई खेलमा शुन्यमा आउट भए। एक खेलमा बल फेस गर्न पाएनन्। एक खेलमा भने उनले ब्याटिङका लागि अवसरै पाएनन्।
बुटवल ब्लास्टर्स विरुद्ध पहिलो बलमै आउट भएका आरिफले पोखरा पल्टनविरुद्ध ब्याटिङ गरेनन् भने धनगढी ब्लुजविरुद्ध ५ बल खेल्दै शुन्यमै रनआउट भए।
काठमाडौँ रोएल्स विरुद्ध ब्याटिङ गर्न गएपनि उनले बल फेस गर्नै पाएनन्। चितनले अब लिग चरणमा एक खेल मात्र खेल्न बाँकी छ र त्यसै खेलबाट चितवन शीर्ष तीनमा रहने वा नरहने छिनोफानो हुनेछ।
अब लिगको अन्तिम खेलमा चितवनले विराटनगर टाइटन्स विरुद्ध खेल्न बाँकी छ। उक्त खेल आरिफ शेखको लागि पुनरागमन गर्ने, रन बनाउने र चितवनलाई शीर्ष तीनमा पुर्याउँदै फाइनलको यात्रा तय गराउने अबसरको रुपमा रहन सक्छ। दुई विदेशी खेलाडीहरु सन्नी पटेल र स्मिथ पटेलको आगमन तथा ब्याटिङ अर्डर समान नरहेका कारण आरिफले आफ्नो स्वभाविक खेल देखाउन पाएका छैनन्।
अक्सनमा आरिफ शेखसँगै राष्ट्रिय टिमका करण केसी र अनिल शाहलाई सबैभन्दा महँगो रकम (२ लाख ५० हजार) तिरेर अनुबन्ध गरेको चितवन प्रतियोगिताअघि सबैभन्दा बलियो देखिएको थियो। सुरुवाती दुई खेलमा खराब प्रदर्शन गर्दै हार बेहोरेको पारस खड्काको चितवनले त्यसपछि लगातार दुई खेल जित्दै आफूलाई बलियो टोलीको रुपमा पेश गरेको छ।
लोकल ब्वाइ करणले चारवटै खेलमा उत्कृष्ट बलिङ गर्दै अहिलेसम्म सर्वाधिक ९ विकेट लिइसकेका छन्। नयाँ बल लिएर आउने करण सुरुमै विकेट लिँदै टिमलाई सफलता दिलाउने काम गरिरहेका छन्।
उनले एक खेलमा तीन, दुई खेलमा दुई-दुई तथा एक खेलमा एक विकेट लिएका छन्।
यस्तै अनिल शाहले सुरुवाती दुई खेलमा विकेटकिपङ सम्हालेका थिए। तर ब्याटिङ र विकेटकिपिङ दुवै राम्रो नभएपछि पछिल्लो दुई खेलमा उनलाई उक्त जिम्मेवारीबाट हटाएर ब्याटिङ मात्र दिइएको थियो। त्यसपछिको दुई खेलमा उनले ३७ र २७ रन बनाए। उनले धनगढी विरुद्ध हरिशंकर शाहसँग शतकियर काठमाडौँ विरुद्ध हरिशंकरसँगै अर्धशतकिय साझेदारी गरे। अनिलले चार खेलबाट ८० रन बनाएका छन् र सर्वाधिक रन बनाउने सूचीमा दशौँ स्थानमा छन्।