PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

पिपिएल : बुटवलको लगातार दोस्रो हार, धनगढीको दोस्रो जित



पहिलोपोस्ट

पिपिएल : बुटवलको लगातार दोस्रो हार, धनगढीको दोस्रो जित

काठमाडौँ : पोखरा प्रिमियर लिगमा सुरुवाती दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको बुटवल ब्लास्टर्सले लगातार दुई खेल हारेको छ। प्रतियोगिताअन्तर्गत बिहीवार भएको खेलमा धनगढी ब्लुजले बुटवललाई २० रनले पराजित गरेको हो। धनगढीको भने यो चार खेलमा दोस्रो जित हो।

धनगढीको जितपछि प्रतियोगितामा सहभागि ६ मध्ये पाँच टिमको समान ४ अंक छ। सन्दीप लामिछानेको विराटनगर टाइटन्सको भने चार खेलबाट २ अंक मात्र छ।

धनगढीले दिएको १६२ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ६ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। चिराग सुरीले अन्त्यसम्म खेल्दै नटआउट ७९ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

यसअघिका तीन खेलमा ओपनिङ गरेका सुरीले आज तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए। ओपनिङमा फ्लप उनले धनगढीविरुद्ध ५४ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले २० रन जोडे। धनगढीका सागर ढकालले २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले कप्तान दिपेन्द्रसिंह ऐरी र ड्यानिएल लरेन्सको शतकिय साझेदारीमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो। दुबैले अर्धशतक बनाए।

दिपेन्द्रले नटआउट ५६ रन बनाए। ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। ३९ बल नै खेलेका लरेन्सले ३ चौका र २ छक्काको मद्दतमा ५२ रन जोडे। यी दुईले चौथो विकेटका लागि १०८ रनको साझेदारी गरे। पिपिएलमा यो कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो। बलिङमा बुटवलका विपिन खत्रीले २ विकेट लिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell