
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको बताएका छन्।
विहीबार रिपोर्टस क्लवको साक्षात्कारमा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सिमित भएको बताए।
जनताको शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउँदै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने सवालमा पनि असक्षम प्रमाणित भएको उनको तर्क थियो।
नेपाल विकास सम्बन्धि विहीबार सार्वजनिक एशियाली विकास बैकको प्रतिवेदनले लगानी ह्वात्तै घटाएको देखाएको उल्लेख गर्दे उनले यस्तो अवस्थाले सम्वृद्ध मुलुक र सुखी नेपालीको लक्ष पुरा नहुने बताए।
उनले जनताको आवाज , समस्या र मर्का बुझ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको भन्दै संगठन विस्तारका साथ अगामी निर्वाचनमा कांग्रेस एक्लैले सरकार बनाउने उद्घोष गरे।
नेता महतले कर वृद्धि तथा कानुन कार्यान्वय र व्यवस्थापकीय निकायको प्रभावकारी नियमन हुन नसक्दा लगानीको वातावरण खस्कँदै जानु, मुलुकभर हत्या हिंसा, बलात्कार र अशान्ति व्याप्त हुनुले सरकार पूर्णतया असक्षम भइसकेको प्रमाणित गरेको दाबी गरे।