
काठमाडौं : प्रदेश २ को सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थ नियुक्त भएका छन्।
मुख्यमन्त्री लालबाबु राउतले विहीबार कायस्थलाई सुरक्षा सल्लाहाकारमा नियुक्त गरेका छन्। विहीबार नै कायस्थले पत्र बुझेका छन्।
आफूलाई सुरक्षा सल्लाहकार नियुक्त गरेकोमा खुशी व्यक्ति गर्दै उनले पहिलोपोस्टसँग भने,‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। आठ महिना जति एआइजी भएर प्रदेश दुईमा बस्दा मैले गरेको कामको शैली उहाँहरुलाई मन परेको हुनु पर्छ। त्यसैकारणले होला मलाई नियुक्त गरेको।’
सुरक्षाको हिसाबले प्रदेश २ लाई संवेदनशिल प्रदेशको रुपमा लिइएको छ। राजनीतिक असन्तुष्ट समूहदेखि अपराधिक गतिविधि पनि प्रदेश दुईमा उल्लेखीय संख्यामा हुने गरेको देखिएको छ।
आफूलाई दिइएको जिम्मेवारी पुरा गर्ने बताउँदै कायस्थले भने,‘मलाई उचित लागेको सुझाव सल्लाहा सरकारलाई दिएर सहयोग गर्नेछु।’
यता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ को सुरक्षाबारे कायस्थ जानकार रहेकोले जिम्मेवारी दिइएको बताए।