
ललितपुर : आरआर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड सर्ट मुभी ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’विषयमा गरिएको चलचित्र प्रतियोगितामा ५० हजार नगद सहित पहिलो पुरस्कार पाएको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना छोटो भिडियो प्रतियोगितामा आठ फिल्मलाई उछिन्दै फष्ट ब्लडले पुरस्कार हात पारेको हो।
डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए। उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपूर्ण विषयलाई प्रतियोगिता तथा अन्य माध्यमबाट उठान गरिरहने प्रतिवद्धता पनि व्यक्त गरे। डिसिए नेपालले गतवर्ष देखि विभिन्न सामाजिक विषयमा छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ।
रेवती गुरुङ्गद्वारा निर्देशित ‘राजवती’ ले दोश्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैन बत्तीको (रि-इम्याजिन्ड) ले तेश्रो पुरस्कार हातपार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो। विजेताहरुले क्रमश: रु ३०,०००, २०,००० र १०,००० प्राप्त गरे।
“महिनावारी भएको महिलालाई रजोवती भनिने रहेछ। हामीले यही सामाजमा दैनिक घटिरहने घटनालाई चलचित्रमा उतारेका छौं,” रेवती गुरुङले बताइन्। त्यस्तै आर आर श्री स्कुलअफ टेक्नोलोजीका रमेशमान श्रेष्ठले फष्ट ब्लड निर्माणका बेला आफ्ना महिला सहकर्मीसँग समय बिताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारिरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताए। आश्मा गौतमले यस्ता प्रतियोगिताले ‘सामाजिक विषयमा अझ धेरै चलचित्र बनाउन प्रोत्साहन हुने’ बताइन्।
आवेदनमा परेका फिल्म मध्येबाट नौ वटा फिल्म प्रतियोगिताका लागि छानिएको थियो। दीपक रौनियार, राधा पौडेल र गुणराज श्रेष्ठ सम्मिलित ‘जुरी’को चलचित्र छनोट गरेको हो।