PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

निर्मला मारिएको १०० दिन पूरा : अहिले के गर्दैछ प्रहरी?



सविन ढकाल

निर्मला मारिएको १०० दिन पूरा : अहिले के गर्दैछ प्रहरी?

काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०० दिन पूरा भएको छ। सय दिन पूरा हुँदा पनि हत्यारा प्रहरीको पञ्जाभन्दा बाहिरै छ। यी १०० दिन नेपालको सुरक्षा व्यवस्था दयनीयमात्र देखिएन, प्रहरी प्रशासनसमेत चरम रुपमा बद्नायम बन्यो। अनुसन्धानमा खटिएकै प्रहरीले भएका प्रमाण समेत लोप गर्दा सिंगो सुरक्षा निकायमाथि जनआक्रोश चुलियो।
 
सय दिनको अवधिमा हत्यारा पत्ता लाग्नुभन्दा घटनामा संलग्न प्रहरीहरूको अनुसन्धानमा बित्यो। प्रहरी माथि नै अनुसन्धान गर्ने एआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति बन्यो। समितिले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाउन प्रहरी प्रधान कार्यालयलाई सुझाव समेत दियो। फलतः एसपी विष्ट र भट्टलाई सेवाबाट नै हटाइयो। उनी सँगै अरू आधा दर्जन प्रहरी निलम्बनमा परे।

अनुसन्धानमा लापरबाही गर्ने प्रहरी कारबाहीको दायरमा आइसक्दा पनि हत्यारा को हो भन्ने क्लु समेत प्रहरीले पाउन सकेन या चाहेन। सय दिनसम्म निर्मलाको हत्यारा खुलेआम घुमिरहँदा अनुसन्धानमा खटिएको प्रहरी चाहिँ के गर्दैछ? अपराधीसम्म पुग्ने प्रमाण नष्ट नै भएका हुन् त? निर्मला प्रकरणको अनुसन्धानमा खटिएका एसपी कुवेरबहादुर कठायतसँग गरिएको कुराकानी।

निर्मला पन्तको हत्या भएको सय दिन भइसकेको छ। तपाईँहरूको अनुसन्धान के हुँदैछ?
हामी निरन्तर अनुसन्धानमा लागिरहेका छौँ। अनुसन्धान जारी छ। शङ्कास्पद व्यक्तिहरू हाम्रो निगरानी र अनुसन्धानको दायरमा छन्। हामीले घटना भएको समयमा वरपर रहेका रेकर्डसमेत हेरिरहेका छौँ। मोबाइल प्रयोगकर्तामध्ये महिला, केटाकेटी छुट्ट्याएर सम्भावित शङ्कास्पद फोनहरूको रेकर्ड हेरिरहेका छौँ।

अनुसन्धानको उपलब्धि चाहिँ कतिको देखिरहेको छ त?
अहिलेसम्म अनुसन्धानमात्र भइरहेको छ। अहिलेसम्म ठोस प्रमाण केही हात लाग्न सकेको छैन। ठोस प्रमाण जुटाउन विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ। सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ लगायत अन्य कार्य जारी छ।

अनुसन्धान ढिला हुनुमा तत्कालीन प्रहरीको लापरबाही पनि हो भन्न मिल्छ?
प्रहरीको लापरबाहीले पनि केही समस्या पारेको छ। केही प्रमाण नष्ट हुँदा समस्या परेको छ। 

अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन। अपराधी पत्ता लाग्ने विषयमा पीडितले कसरी विश्वस्त हुने त?
अपराधी पत्ता लाग्छ। अनुसन्धान भएकाले के हो भन्ने बुझ्न समय लाग्नसक्छ। नेपालमा मात्र होइन विश्वमा धेरै उदाहरण छन् अनुसन्धानमा समय लागेको। हामी अपराधी पत्ता लगाउन सक्षम छौँ। शतप्रतिशत ढुक्क भए हुन्छ, अपराधी पत्ता लाग्छ। ठोस प्रमाणसहित हामी अपराधी समक्ष पुग्छौँ। पीडित परिवार र नागरिकले निराश हुने अवस्था आउँदैन।

प्रहरीप्रति नै विश्वास हराएको बेला अनुसन्धान कसरी गरिरहनु भएको छ?
हो, प्रहरीप्रति विश्वास हराएको छ। घटनाको अनुसन्धान गर्न स्थानीय तहको सूचना आवश्यक पर्छ। तर, केही समय स्थानीय व्यक्तिहरू नै प्रहरीसँग खुलेर कुरा गर्न चाहेनन्। तर, अहिले केही परिवर्तन हुँदै गएको छ। घटनास्थल वरपरका स्थानीयहरू अहिले केही खुल्न थाल्नुभएको छ। प्रहरीसँग भेटघाट गर्ने केही कुराकानी गर्ने वातावरण बन्दै गएको छ। आशा छ प्रहरीलाई थप सहयोग पुग्ला।

चार जनाको डिएनए हुँदैछ। उनीहरू नै आरोप हुने सम्भावना कति छ?
शङ्कास्पद चार जनाको डिएनए गर्न पठाएका छौँ। उनीहरू हाम्रो शङ्काको घेरामा छन्। तर, डिएनए रिपोर्ट नआएसम्म केही भन्ने अवस्था छैन। हामीले एक लेबलको अनुसन्धान गरेर थप ठोस प्रमाणको लागि डिएनए गराएका हौँ।

उनीहरूको डिएनए नेगेटिभ आए फेरि अरूको डिएनए गर्ने तयारी छ हो?
शङ्कास्पद व्यक्तिहरूको अनुसन्धान गरिरहेका छौँ। घटनामा शङ्का लागेर डिएनए गर्नुपर्ने भयो भने गर्छौँ। शङ्कास्पदहरूको थप डिएनए परीक्षण हुनसक्छ।

बम दिदी बहिनीमाथि धेरैले प्रश्न गरिरहेका छन्। तपाईँले नियन्त्रणमा लिएर अनुसन्धान पनि गर्नु भयो। अहिले चाहिँ के छ?
उनीहरू अहिले पनि हाम्रो नियन्त्रणमा छन्। उनीहरूसँग अहिले पनि हामी सोधपुछ गर्दैछौं। ठोस प्रमाण भेटिएको छैन। प्रमाण नै नभेटिकन नियन्त्रणमा लिँदा अदालतबाट फेरि मुद्दा फिर्ता भए गाह्रो हुन्छ। ठोस प्रमाण नभेटिएसम्म केही गर्ने अवस्था छैन। फेरि उनीहरूले बलात्कार गरेका होइनन्। उनीहरूबाट बलात्कारी समक्ष पुग्नेमात्र हो। हामी विभिन्न कोणबाट घटना केलाइरहेका छौँ। 

दिलीपसिंह विष्ट दोषी देखिने अवस्था फेरि देखिन्छ कि देखिन्न?

अहिले हामीले दिलीप सिंह विष्टबारे अनुसन्धान गरेका छैनौं। विष्ट अहिले उपचारको लागि काठमाडौँमा नै छन्। उनीसँग केही सोधपुछ गर्ने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell