काठमाडौं: ललितपुर महानगरपालिकाले ललितपुर जिल्लामा भएका ए, बी र सी डिभिजन लिग क्लबलाई प्रवत्सहानका लागि नगद पुरस्कार वितरण घोषणा गरेको थियो। शनिबार कार्यक्रम आयोजना गरी ललितपुरमा रहेको थ्री स्टार क्लबलाई विशेष सम्मान र अन्यलाई सम्मान गर्ने भनिएको थियो।
तर, ललितपुरका अन्य चार ए डिभिजन क्लबले भने उक्त कदमको विरोध जनायो।
च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र बिर्गेड ब्वाइज् क्लबले संयुक्त विज्ञप्ती जारी गरी कार्यक्रम वहिष्कारको घोषणा गर्यो। हरेक क्लबलाई चार लाख रुपैयाँ राशीसहित सम्मान गरिने र थ्री स्टारलाई भने २८ लाखसहित विशेष सम्मान गर्न लागेकाले पुरस्कार नलिने च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए। भने,’सम्मान पनि असमान हुने भएपछि हामीले पुरस्कार नलिने निर्णय गरेका हौं।‘
महानगरपालिकाले ए डिभिजन लिगमा ट्रफि जितेकाले थ्री स्टारलाई विशेष सम्मान गर्ने भएको थियो।