
काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको सुरुवाती दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको बुटवल ब्लास्टर्सले त्यसपछि लिग चरणमा लगातार तीन खेल हारेको छ। शुक्रवार भएको आफ्नो अन्तिम लिग खेलमा बुटवल काठमाडौँ रोएल्ससँग ३७ रनले पराजित भयो।
लगातार तेस्रो हारपछि पाँच खेलबाट ४ अंक रहेको बुटवल पाँचौ स्थानमा झरेको छ। लिग चरणमा चार खेल मात्र खेलेको काठमाडौँ भने तेस्रो जितपछि ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। काठमाडौँले अब अन्तिम खेलमा पोखरा पल्टनसँग खेल्नेछ। यस्तै अर्को खेल चितवन राइनोज र विराटनगर टाइटन्स बीच हुनेछ। यी दुई खेलपछि शीर्ष स्थानमा रहदै सिधै फाइनल पुग्ने र दोस्रो र तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्ने टिमको टुङ्गो लाग्नेछ।
पोखरा रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले नरेश बुढाएरको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो।
नरेशले आक्रमक ब्याटिङ गर्दै २८ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ५८ रन बनाए। ओपनर जयकिसन कोल्सावालाले ४५ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा नटबउट २५ रन बनाए। बुटवलका विपिन खत्रीले २ विकेट लिए।
१७३ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। ओपनर रोहन मुस्ताफाले ५१ बलमा ६१ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो रन बनाउन सकेनन्। बुटवलका सात खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा काठमाडौँका अमरसिंह राउटेलाले ३ तथा नन्दन यादव र बसन्त रेग्मीले २-२ विकेट लिए। नन्दनले १५, बसन्तले २० र अमरले २३ रन खर्चे।