
काठमाडौँ : भुटानको थिम्पुमा भएको साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नगदसहित सम्मान गरेको छ।
आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको ५० हजार प्रदान गरे।
सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन्, त्यो अविस्मरणीय भएको भन्दै खेलाडीले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रको आधिकारिक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भएपश्चात् राष्ट्रका तर्फबाट पनि सम्मानका लागि पहल गर्ने बताए।
गत सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यू-१८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले समूह चरणमा पाकिस्तानलाई १३-० गोलले पराजित गरेको थियो भने बङ्गलादेशसँग २-१ ले पराजित भएकव थियव। समूह उपविजेता बनेको नेपालले सेमिफाइनलमा भारतलाई एक-एक गोलको बराबरीपश्चात् टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। फाइनलमा पुनः बङ्गलादेशसँग खेलेको नेपाल १-० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित भएको थियो।
सोही महिला फुटबल टोलीले थाइल्याण्डमा भएको एएफसी यू-१९ को पहिलो चरणको छनोट पार गर्दै इतिहास रच्न सफल भएको थियो। नेपालले अब मार्चमा दोस्रो चरणको छनोट खेल्नेछ।