PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रधानमन्त्रीको हस्पिटल बिल साढे २५ हजार रुपैयाँ मात्रै



सागर बुढाथोकी

प्रधानमन्त्रीको हस्पिटल बिल साढे २५ हजार रुपैयाँ मात्रै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदा साढे २५ हजार रुपैयाँमात्र लागेको छ। 

सोमबार बिहान साढे ४ बजे अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको डिस्चार्ज बिल शुक्रबार दिउँसो १ बजे तयार पारिएको थियो। 

प्रधानमन्त्री पाँच दिन अस्पताल बसे पनि आज डिस्चार्ज भएको हुनाले चार दिनको मात्र बिल बनाइएको छ। एमएमसिसियुको क्याबिन प्रतिदिन ३४ सय रुपैयाँको दरले १३ हजार ६ सय शुल्क उठेको छ। अरु सबै टेस्टहरुको शुल्कसहित जोड्दा कूल शुल्क २५ हजार ६ सय ४० रुपैयाँ उठेको छ। 

'विदेशमा भए यति उपचारका लागि १० लाख रुपैयाँ भन्दा बढी खर्च हुन्थ्यो', प्रधानमन्त्रीको उपचारका लागि अस्पतालले बनाएको चिकित्सक टोलीको नेतृत्व गरेका डा. अरुण सायमिले पहिलोपोस्टलाई बताए। 

प्रधानमन्त्रीका लागि पाँच दिन विभिन्न ‍औषधिहरु किन्दा थप ११ हजार १ सय १७ रुपैयाँ खर्च भएको छ। 


औषधी खर्चसहित जोड्दा कूल खर्च ४० हजार रुपैयाँ भन्दा कम उठेको छ। 

नेपालमै उपचार गराउन पाउँदा प्रम खुशी

अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रधानमन्त्री ओलीले नेपालकै अस्पतालमा आफ्नो उपचार गराउन पाउँदा खुशी भएको प्रतिक्रियासमेत दिए। 

अस्पतालबाट बाहिरिँदै गर्दा उनी आफैँले फोटो खिच्ने प्रस्ताव गरेका थिए। अस्पतालमा ५ दिन रहँदा एउटै पनि फोटो सार्वजनिक नभए पनि निस्किँदा भने फोटो सेसन गर्न आफैँ तयार भएका थिए उनी। 'अस्पतालका चिकित्सकहरुलाई धन्यवाद,' बाहिरिँदै गर्दा ओलीले भने, 'यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु।'

डिस्चार्ज भएको एक सातापछि यही अस्पतालमा फलो अपका लागि प्रधानमन्त्री आउने अस्पतालले गठन गरेको चिकित्सक टोलीका सदस्य डाक्टर सन्तकुमार दासले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell