PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारतीय प्रम मोदी पाँचौ पटक नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम



अनन्तराज न्यौपाने

भारतीय प्रम मोदी पाँचौ पटक नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

विराटनगर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने भएका छन्। विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ।

उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न नेपाल आउन लागेका हुन्। यी दुबै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्। 

उनी प्रधानमन्त्री भएपछि पहिलो पटक २०७१ वैशाखमा नेपाल भ्रमणमा आएका थिए।

त्यसपछि सोही वर्षको सार्कको १८औं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए। २०७१ सालको वैशाख २८ गते उनी जनकपुर हुँदै नेपाल आए। त्यसपछि विमस्टेक सम्मेलनमा भाग लिन भदौं १४ गते मोदी नेपाल आएका थिए।विराटनगर महानगरपालिका वडा नं १८ भेडियारी र त्यसको समानान्तर भारतीय भूमिमा बनेको एकीकृत जाँच विन्दु (आइसिपी)को उद्घाटन मंसिर २६ गते हुने भएको छ । ओली र मोदीले ३८ किलोमिटर लामो जनकपुर–जयनगर रेल खण्डको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रमअनुसार जनकपुर–जयनगर रेल खण्डको उद्घाटन गरेपछि आइसिपीको उद्घाटन गर्ने कार्यक्रम छ। यसपछि आइसिपी खण्डमा पनि रेल सञ्चालन गरिने छ। पूर्वको व्यावसायिक समृद्धिका लागि ड्रिम प्रोजेक्ट मानिएको विराटनगर र सीमावर्ती भारतको गरी दुबै स्थानका आइसिपी भारु ३७३ करोडको लागतमा तयार भएको निर्माण कम्पनीले जनाएको छ। आइसिपी निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको १ सय २९ बिघा जमिनमा भारत सरकारले भौतिक संरचनाको निर्माण गरिदिएको हो।

निर्माण कम्पनी इरकोनका महाप्रबन्धक सुरेन्द्रप्रसाद सिंहका अनुसार भारतीय स्टेसन बथनाहादेखि आइसिपीमा बनाइएको नेपाल कस्टम यार्ड सम्मको ८ किलोमिटरको रेलमार्गको निर्माण पूरा भएको छ। आइसिपीसम्म ८ किलोमिटर पहिलो चरणको रेलमार्ग मात्र पूरा भएको सिंहले बताए। उनले बथनाहादेखि १८ किलोमिटर उत्तरमा रहेको कटहरी गाउँपालिकासम्म यसको गन्तव्य रहेको जानकारी दिए। तर कटहरीका केही जग्गाधनीले मुआब्जाका लागि अदालतमा हालेको मुद्दाका कारण नेपाल सरकारले रेलमार्ग र यार्डका लागि जमिनको अधिग्रहण गर्न सकेको छैन। जमिन अधिग्रहण नभएकाले कटहरीमा यार्ड बनाउने र त्यहाँसम्म रेलमार्ग ल्याइ पुर्याउने काम पनि अवरूद्ध भएको मुख्य महाप्रबन्धक सिंहले बताए।

‘नेपालले जमिन उपलब्ध गराउँछ भने हामी ६ महिनामित्रमा कटहरीसम्म रेलमार्ग पुर्याउने र यार्ड बनाउने काम पूरा गर्छौं,' सिंहको भनाइ थियो, ‘तर जमिन नै नभए र नपाएपछि हाम्रो केही लागेन।’ उनका अनुसार काम तीब्र पार्न सबै निकायलार्इ निर्देशन दिएको बताए। सिंहले भने, ‘मैले सबै निकायलाई काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिइसकेको छु। यसैअनुसार काम अघि बढेको पनि छ।’ उनले आइतबार नै रेलमार्गको परीक्षण गरिने जनाए। परीक्षणका लागि बथनाहा स्टेसनदेखि आइसिपीसम्म रेलको इन्जिन चलाइने छ। 
 
पाँच सय मिटर बाटो कसले बनाइदिने?
आइसिपी त सञ्चालन हुने भयो तर भारतले आइसिपी नजिकै निर्माण गरिदिएको कस्टम यार्डबाट विराटनगरतर्फको आइसिपीसम्म आइपुग्ने ५ सय मिटर बाटो बनाउने टुंगो लागेको छैन। 

यो बाटो नबनाए मालवाहक सवारी साधनको सहज आगमन र बहिर्गमन कठिन हुने देखिएको छ। भारतीय पक्षले आफ्नो कार्य सूचीमा यो बाटो बनाउने नरहेको स्पष्ट पारेको छ। त्यस्तै शहरी विकास विभागले यति सानो बाटो बनाउने काम आफ्नो निकायको नभएको भनेर पन्छिएको छ।

विराटनगर भन्सारका प्रमुख मीमांसा अधिकारीले महानगरपालिकालाई उक्त बाटो बनाइदिन अनुरोध गरेको र त्यहाँबाट स्पष्ट जवाफ आउन बाँकी रहेको जानकारी दिए। पाँच सय मिटर उक्त बाटो निर्माण नगरिए निकासी–पैठारीमा जटिलता उत्पन्न हुने अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell