
काठमाडौं: दिवंगत पूर्वमन्त्री तथा स्वतन्त्र वामपन्थी, मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको अन्तिम संस्कार शोभाभगवतीको कर्णदीपमा भोलि दिउँसो हुने भएको छ।
अन्तिम संस्कार अघि तुलाधरको निवास लाजिम्पाटबाट सोमबार दिउँसो १ बजे कमलाक्षी, असन, थायमदु (बांगेमुढा), क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा हुनेछ।
शवयात्राअघि बिहान ७ बजेदेखि लाजिम्पाटमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ।
तुलाधरको ७७ वर्षको उमेरमा नर्भिक अस्पतालमा आइतबार निधन भएपछि दिउँसो उनको शवलाई निवास लगिएको थियो।
तुलाधरलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष प्रचण्ड, नेता माधव नेपाललगायत नर्भिक अस्पताल पुगेका थिए। सोमबार बिहान मन्त्रिपरिषद्को बैठक बसेर तुलाधरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्ने तयारी छ।
तुलाधरको परिवारलाई उनको राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गर्ने जानकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दिएका थिए। उनको शवमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउने र सैनिक टुकडीले सलामी दिने तयारी छ।
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए।
पञ्चायतकालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए।
तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा लगातार दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा संसदीय चुनाव जितेका थिए।
तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा मालेको तारा चिह्नबाट चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।
तुलाधर नेतामात्र हैन, भाषा आन्दोलनका खम्बा पनि थिए। नेपाल भाषा मंका खलःका आजीवन अध्यक्ष रहेका उनी पत्रकार पनि थिए। तत्कालीन नेपाल भाषा दैनिकका सम्पादक, राजमति साप्ताहिकका वरिष्ठ अतिथि सम्पादक र युगधारा साप्ताहिकका सम्पादकसमेत उनी भएका थिए।