PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अझै परेन राज्यको नजरमा कर्णाली, छुटाउनै नहुने दर्जन पर्यटकीय गन्तव्य सूचीमा अटाएनन्, 'पहुँचको भरमा छनोट गरियो'



पी बी खड्का

अझै परेन राज्यको नजरमा कर्णाली, छुटाउनै नहुने दर्जन पर्यटकीय गन्तव्य सूचीमा अटाएनन्, 'पहुँचको भरमा छनोट गरियो'

सुर्खेत: भर्खरै सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थललाई प्रवर्द्धन गर्ने भन्दै एक सय वटा सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा अझै कर्णालीका ऐतिहासिक महत्व बोकेका दर्जनौ स्थल पर्न सकेनन्। अहिले पनि चर्चामा रहेका कर्णालीका ऐतिहासिक, धार्मिक प्राकृतिक सम्पदाहरु सरकारले सार्वजनिक गरेको लिष्टमा परेनन्। 

यसरी कर्णालीको पहिचान बोकेका र महत्वपूर्ण पर्यटकीय स्थल नपर्नुमा सरकारले पहुँचको भरमा छनौट गरेको यहाँका जानकारहरुको गुनासो छ। ‘सरकारले सामान्य पर्यटकीय स्थललाई छनौटमा पारे पनि जुन पर्नुपर्ने प्राकृतिक सम्पदाहरु हुन पर्न सकेनन्, दुखको कुरा,’ मध्य पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकालले भने,‘उही पुरानै शैलीले यस्तो भएको हो। पहुँच र ताकतको भरमा छनौटमा परेका होलान्। जसले गर्दा पर्नै पर्ने कर्णालीको महत्व बोकेका पर्यटकीय स्थल छुटे।’
 
सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यहरुमा अहिले चर्चामा रहेको सुर्खेतको बुलबुले ताल, बराह ताल, जुम्लाको चन्दनाथ मन्दिर, जुम्लाकै तातोपानी कुण्ड, रुकुम पश्चिमको स्यार्पु ताल, सल्यानको खैराबाङ्, हुम्लाको एलबाङ गुम्बा लगाएतका करिव एक दर्जन पर्यटकीय आकर्षणका केन्द्र सरकारको नजरमा पर्न नसकेका हुन्।  यी ऐतिहासिक महत्व बोकेका पर्यटकीय गन्तव्यको आ–आफ्नो छुट्टै पहिचान बोकेका छन्।

रुकुमको स्यार्फु ताल
सरकारले छुटाएका पर्यटकीय गन्तव्यहरु मध्ये कतिपयको स्तरोन्नतीको काम समेत तीव्र पारिएको छ। जुन सुर्खेतको बुलबुले तालको गुरुयोजना निर्माण गरेर संरक्षण र प्रवर्द्धनका लागि काम धमाधम भइरहेको छ। ‘गुरुयोजना बनाएर धमाधम काम भइरहेको ३१ विघामा फैलिएको बुलबुले ताल सरकारले प्राथमिकतामा नपार्नु हामीले उपेक्षा गरेको महशुस गरेका छौँ।’ 
नगर उपत्यका विकास समितिका अध्यक्ष नारायण कुमार कोइरालाले भने,‘अहिले पनि बुलबुलेलाई संरक्षण गर्ने काम भइरहेको छ। पार्क, तालमा डुंगा सञ्चालन गरेका छौँ। बाल उद्यान निर्माण गर्‍यौ। तार बार गर्ने काम भइरहेको छ।’ सरकारको प्राथमिकतामा परे अझै स्तरोन्नती गर्न सजिलो हुने उनले बताए।

यो पर्यटकीय गन्तव्य कर्णालीको एउटा उदाहण मात्रै हो। संरक्षण र प्रवर्द्धननको चरणमा थुप्रै छन्।
 
हुम्लाको गुम्बा।
प्रदेश सरकारलेसमेत पर्यटकीय गन्तव्यको संरक्षण र प्रवर्द्धन गर्न लागी परेको छ। प्रदेश सरकारले यसै वर्ष समेत ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ उद्घाटन गरेको छ। कर्णालीमा रहेका पर्यटकीय गन्तव्यको प्रचार र प्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त पर्यटन वर्ष उद्घाटन गरेको छ। सरकारले यस आर्थिक वर्षमा मात्रै पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्रदेश सरकार कर्णालीको विकास र समृद्धि पर्यटन क्षेत्रबाटै हुने भन्दै लगानि समेत गर्ने भएको छ। सरकारले संभावना देखेर अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जम्मा बजेट मध्ये ५२ प्रतिशत करिव ९० करोड जति पर्यटन क्षेत्रमै विनियोजन गरेको मन्त्री नन्दसिंह बुढाले जानकारी दिए। 
जुम्लाको चन्दनाथ मन्दिर
‘प्रदेशको विकास र समृद्धिमा पर्यटनको महत्वपूर्ण हात हुने हुँदा प्रदेश सरकार पनि लागी परेको छ,’ बुढाले भने,‘हाम्रो मन्त्रालय अन्तर्गत मात्रै आएको कुल बजेटको ५२ प्रतिशत बजेट पर्यटनमै छ।’ अहिले केन्द्र सरकारले अझै कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य स्थल समेट्न नसकेको बताए। जुन अहिले पनि चर्चामा रहेका पर्यटकीय गन्तव्य नपर्नु विडम्बना भएको उनले बताए। प्रदेश सरकारले सके सम्म र बजेटले धाने सम्म यी छुटेका पर्यटकीय गन्तव्यको विकास र संरक्षणमा सक्दो सहयोग गर्ने बताए।
 

सरकारले समेटेको कर्णालीका २० पर्यटकीय गन्तव्य

सरकारले समावेश गरेका कर्णाली प्रदेश दश जिल्लाका विभिन्न २० भन्दा बढी पर्यटकीय गन्तव्यलाई समेटेको छ।  पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो।

सरकारले छानेका सय मध्ये कर्णालीका पाँच जिल्लाका सात वटा पर्यटकीय गन्तव्यहरु स्थापित तथा प्रवर्द्धन गरिनुपर्नेमा समेटेको छ। त्यस्तै नँया तथा विकास गरिनुपर्ने गन्तव्यका रुपमा दश जिल्लाका १३ भन्दा बढि गन्तव्य छनौट गरेको छ।
 

स्थापित तथा प्रवर्द्धन गरिने गन्तव्य 

डोल्पाको शे–फोक्शुण्डो राष्ट्रिय निकुञ्ज,
जुम्लाको सिंजा सभ्यता
मुगुको रारा ताल
दैलेखको पञ्चकोशी धार्मिक पर्यटन विकास (पञ्चकोशी ज्वाला क्षेत्र)
सुर्खेतको कांक्रेविहार, देउतीबज्यै मन्दिर र मदन आश्रित पार्क

नयाँ तथा विकास गरिने गन्तव्य 

सल्यानको कुभिन्डे दह,
डोल्पाको त्रिपुरासुन्दरी पर्यटन क्षेत्र
जुम्लाको डुडुल चैत्य
हुम्लाको लिमी उपत्यका पर्यटकीय स्थल
मुगुको रारा–से फोक्सुण्डो लेक टु लेक ट्रकिङ
कालिकोटको पाचाल झरना 
जाजरकोटको खलंगा दरबार क्षेत्र
दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर –महाबु पर्यटकीय विकास 
सुर्खेतस्थित पञ्चपुरीको–जाजुरा दह, गुप्ती भादले गुफा, शिव गुफा लगाएत पश्चिमकै गिद्देडाँडा पर्यटकीय क्षेत्र
रुकुम पश्चिम वोतामकोट चित्री पाटन साहसिक पदमार्ग।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell