
काठमाडौं: केही समयअघि 'प्रेमलीला' अभिनेत्री दीपशिखा खड्काले फिल्मका लागि कपाल मुण्डन गरेकी थिइन्। उनी अहिले कपाल मुण्डन गरेर नै हिँड्छिन्। उनी अभिनित 'प्रेमलीला' माघ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार थालेको छ। प्रोमोसनका लागि टिमले 'तक्लु ब्युटी कन्टेस्ट'को आयोजाना पनि गरेको छ।
'महिलाका लागि कपाल पक्कै प्यारो छ। कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ। म तक्लु बन्दाको फरक र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छु,' निर्मात्री समेत रहेकी दीपशिखाले भनिन्,' त्यो अनुभव सबैसंग साट्नका लागि यो कन्टेस्ट आयोजना गर्न लागेको हौं।'
प्रतियोगितामा महिलाहरु दर्शक मात्र सहभागी हुन सक्नेछन्। सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा आफ्नो परिचयसहित तक्लु फोटो पठाउनु पर्नेछ। संकलित फोटोहरुमधेय उत्कृष्ट १० बाट अन्तिम प्रतिस्पर्धा गराइनेछ। यो प्रतियोगितामा प्रथम हुनेलाई रु ५०,०००, दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने टिमले जनाएको छ।
दीपशिखा खड्काकै कथा रहेको फिल्ममा भारतीय मोडल अलि खान मुख्य भूमिका छ। फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मालगायतको अभिनय छ।