
काठमाडौँ: गत असोज ८ गते साँझ पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विक मामाघर बाटै बेपत्ता भइन्। परिवार, आफन्त र प्रहरीले बालिकाको खोजी थाले तर हराएको चौवीस घन्टाभित्र बालिकाको शव नजिकैको जंगलमा भेटियो।
बालिकाको बलात्कार गरी हत्या भएको पोष्टमार्टम रिपोर्टमा खुल्न गयो। कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको दुई महिना बितिसकेको थियो, यतिखेर। दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचित बनेको प्रहरीका लागि अर्को ठूलो चुनौती थपिएको थियो।
घटनास्थलमा प्रहरीले एउटै प्रमाण फेला पारेको थियो, रगत लागेको ढुङ्गो। कसरी ढुङगोबाट अपराधी समक्ष पुग्ने त? प्रहरीका लागि बालिकाको हत्यारा पत्ता लागउन धेरै समय खर्चिनुपरेन। शव फेला परेको २४ घन्टा नबित्तै प्रहरी हत्यारा समात्न सफल भयो।
प्रहरीको हत्यारासम्म पुग्न ट्र्याक कोर्दिने काम गर्यो कुशलले। नेपाल प्रहरीको 'ट्र्याकर डग'को हो कुशल।
कसरी पत्ता लगायो कुशलले अपराधी
शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुरको सहयोग माग्यो। ४ नम्बर प्रदेश प्रहरी कार्यालय कुकुर शाखाबाट प्रहरी नायव निरीक्षक बिक्रमबहादुर थापाको कमाण्डमा प्रहरीको तालिम प्राप्त कुकुर कुशल घटनास्थलमा पुग्यो।घटनास्थलमा लगिएको कुकुरलाई अनुसन्धानका लागि तयार पारियो। कुशललाई हार्नेस लगाइयो। त्यसपछि रगत लागेको ढुङ्गा सुँघाइयो। त्यसपछि कुकुर घटनास्थलबाट स्तुपा जाने पैदलबाटो उकालोतिर सय मिटर पर पुग्यो। फेरि त्यही बाटोबाट ओरालो झर्यो र सडक नजिकैको पसलमा पुग्यो। पसल वरिपरि केही समय घुम्यो। त्यसपछि छोरेपाटन बजार झर्ने ओरालो सडक खण्ड हुँदै सय मिटरको दुरीमा रहेको सडकको भित्ता पुग्यो। यहाँ रहेको धारो छेउमा केही समय घुम्यो। कुकुरको अनुसन्धान यति मै टुङ्गिएन। सडकबाट फेरि १ सय ५० मिटरको दुरी दाहिने तर्फ गाउने जाने सडक हुँदै २० मिटर परसम्म पुगेपछि कुकर फर्कियो। त्यसपछि कुकुरले कुनै संकेत गरेन।
कुकुरसगै अनुसन्धानका लागि पुगेका प्रहरी बिक्रमबहादुर थापाले कुकुरको इसार बुझे। उनले घटनाको अनुसन्धानमा खटिएका डिएसपी रविन्द्रमान गुरुङलाई हत्यारा कुकुरले देखाएको गाउँमा भएको सुझाव दिए। प्रहरीले अनुसन्धान गर्न थाल्यो। अन्तत: कुकुरको अनुसन्धान सफल देखियो। सोहि गाउँका २७ वर्षीय कुशुम पौडेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा पौडेलले हत्या गरेको स्वीकार गरे।
घटना भएको दिन कुसुमले बालिकालाई भेटी ५ रुपैयाँको चकलेट दिएका थिए। त्यहाँबाट करिब १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकीबीचमा बोलाइ पुन: १० रुपैयाँ देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोजेको प्रहरी अनुसन्धानमा देखिएको छ। बालिकाले प्रतिकार गर्न खोजेपछि उनले पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलेका थिए।
त्यसपछि पौडेलले कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि घाँटी थिची मारेका थिए।
बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।
पछिल्लो समय प्रहरीको कुकुरले गरेका धेरै अनुसन्धान सफल भएको प्रहरी कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्याल बताउँछन्। भन्छन्, 'अनुसन्धानमा कुकुरको माग गर्ने सङ्ख्या बढेका छ। कुकुरको अनुसन्धानमा मानिसको विश्वास समेत बढ्दै गएको छ।'
लागू औषध र हातहतियार समेत खोज्छ कुकुरले
नेपाल प्रहरीसँग अहिले ७९ वटा तालिमप्राप्त कुकुर छन्। घटनाको अनुसन्धानमात्र होइन भिआइपीको सुरक्षा, विस्फोटक पदार्थ र लागू औषधको खोजीमा समेत प्रहरीको कुकुरले सफलता हात पार्दै आएको छ। गत असोज १० गते चेरी नामको कुकुरले ३ किलो गाँजा व्यागमा लुकाइराखेको अवस्थामा फेला पारेको थियो।तनुहँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर २ गुणादीको हाइवेमा सवारी चेक गर्दा धादिङबाटा पोखरा तर्फ जाँदै गरेको मिनीबसमा २० वर्षीय पारस बस्यालले बोकेको झोलाबाट कुकुरले सुँघेर गाँजा फेला पारेको निरीक्षक सत्यालले बताए।
गत मंसिरमा भएको निर्वाचनमा कुकुरले कटुवा पेस्तोल एक थान र एसएलआर गोली समेत फेला पार्न सघाएको थियो। प्रहरीको तालिम प्राप्त कुकुरले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित सिमलको रुखमा लुकाइरहेको अवस्था हतियार फेला पारेको थियो।
२०७४ जेठ ९ गते गोदावरी नगरापालिका वडा नम्वर ११ बस्ने ४० वर्षीय दीपक दमाईको हत्यामा जर्मन शेफर्ड जातको लिजाले अनुसन्धानमा सहयोग पुर्याएको थियो। त्यस्तै २०७४ जेठ ७ गते कैलाली धनगढी उपमहानगरपालिकामा भएको हत्यामा पनि कुकुरले अनुसन्धानमा सघायो। ७५ वर्षीय बद्रीप्रसाद जोशी र उनी श्रीमती कुन्तादेवी जोशीको फलामे रड प्रयोग गरी हत्या भएको थियो, त्यहाँ। प्रहरीले घटनाको आशंकामा एक महिला र दुई पुरुषलाई समात्न सफल भयो। तर, बास्तविक हत्यारा को भन्ने दुविधा नै थियो। तीनै जनालाई एउटै पंङ्तिमा राखेर घटना प्रयोग भएको रड सुँघाउँदा भुन्टी नामको कुकुरले दुई जनालाई प्रस्ट रुपमा चिन्यो। र, उनीहरुमाथि थप कारवाही अगाडि बढ्यो।