काठमाडौं : प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले आफूमाथि लगाइएको मिटु आरोपमा स्पष्टिकरण दिएका छन्।
मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूले सबैलाई चिया, कफी खाउँ भन्ने गरेको भन्दै आरोप लगाउने माथि प्रश्न गरे, ‘के लञ्च खाउँ भन्दैमा बलात्कार भयो? म सबैप्रति राम्रो व्यवहार गर्ने मान्छे। मैले चियाकफी राम्रो बनाउँछु। चिया कफी खाउँ भने हुँला।’
उनले मिटू अभियान भन्दै नेपाली संस्कारमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरे। ‘लोक दोहोरीमा वनमा घुम्न जाउँ, रमाइलो गरौँ भन्दै गाउन हुने। अब त्यसैलाई बलात्कार भयो भन्ने। विदेशी अभियानको नाममा नेपाली संस्कृतिमाथि प्रहार गर्न लागियो,’ उनले भने।
आरोप लगाउने माथि कानुनी कारवाहीमा जाने भन्दै उनले त्यसका लागि आफ्ना कानुनी सल्लाहकारहरु लागेको समेत सुनाए।
‘म त्यसै कहाँ बस्छु? कानुनी सहयोगीलाई बुझ्न लगाएको छु। उहाँहरुले बुझ्दै हुनुहुन्छ। मेरो मानहानी मात्र होइन, धेरै गुमेको छ। अब बिगो दाबी गर्दा तिर्नै नसक्ने गरी दाबी त गर्नु भएन नि,’ उनले भने, ‘म विरुद्ध गलत प्रचार गर्नेलाई त्यसै छाड्दिनँ।’
मिटु अभियान अन्तर्गत पत्रकार रस्मिला प्रजापतिले स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले आरोपलाई झुट बताउँदै तिहार मनाउन दिएको टिप्पणी गरे। ‘अब तिहार आउँदै छ, तिहार मनाउन दिउँ। म पनि अलि व्यस्त छु। अब भाइलाई दिदीले जेलभित्र टीका लगाइदिँदा नरमाइलो लाग्ला।’
उनले आरोप लगाउने रस्मिलालाई आफूले नहटाएको समेत दाबी गरे। ‘शहरका कुचीकारहरुले कुचोले लखेटेका हुन्,’ उनले रस्मिला बर्खास्त भएको घटनालाई स्मरण गर्दै भने, ‘४–५ दिनसम्म शहरमा फोहोर जम्मा भयो। किन भयो कसैलाई थाहा छैन। मन्त्रालयका सचिवसहितको बैठक बस्यो। बैठकमा एउटा सहमति भयो। रस्मिलालाई अन्त सरुवा गर्ने, उसका गल्ती छानबिन गर्न चार सदस्यीय समिति गठन गर्ने, समितिले सात दिनभित्र प्रतिवेदन दिने, उसको गल्ती अनुसारको कारबाही गर्ने। अब त्यो सहमतिमा मैले हस्ताक्षर गरेको होइन। सोही अनुसार कारवाही भएको हो।’
काठमाडौँ महानगरपालिकाले पनि उनले गरेको जस्तै दावी गरेर रस्मिलालाई प्रक्रिया अनुसार कारबाही गरी हटाइएको विज्ञप्ति निकालिसकेको छ।
उनले आफूविरुद्ध अफवाह फैलाउने अनलाइनहरुलाई पनि नछाड्ने बताए। ‘केही दर्ता नभएका अनलाइनहरु छन्। उनीहरुलाई पनि छाड्दिनँ। केही ठूला पत्रिका पनि यसमा पर्छन्, यहीँबाट खबर लगिदिनुहोला,’ उनले भने।