हाँस्य कलाकार केदार घिमिरे 'माग्ने बुढा' सानोमा देउसी भैलो भन्ना साथ हुरुक्कै हुन्थे। साथिहरुको समुहमा आफै देउसी भट्याउन अघि सर्थे। किनकि भट्याउनेलाई २५ पैसा बढी मिल्थ्यो। माग्नेलाई सँधै २५ पैसाले तान्थ्यो अनि उनी अघि सर्थे र भन्थे-
'आहै भन मेरा भाइ हो…'
सुनाए, ' ७/८ जनाको समुहमा पैसा पनि बढी पाइने, च्याँठी बोक्न पनि नपर्ने।'
त्यतिखेर गाउँमा बिजुली थिएन। टर्च लाइटको पनि चलन थिएन। माग्नेको देउसी खेल्ने टोली निगाँलोको मसिना लठ्ठी बालेर उकालो ओरालो हिँड्दै देउसी खेल्थे।
'एक हप्तादेखि निंगालो सुकाएर तयारी गर्थ्यौं। त्यही बालेर बाटो उज्यालो पार्थ्यौ। एउटा घरबाट अर्कोमा पुग्न एक मुठ्ठी बाल्नु पर्थ्यो’, उनले पुराना कुरा सम्झे।
त्यतिखेर देउसी खेल्दा पैसा भन्दा बढी चामल, सेलरोटी पाउथे। देउसीमा कमाएको पैसाले बिस्कुट किनेर खान्थे। भने,’एक रुपैँयामा एक पुरिया बिस्कुट आउँथ्यो।‘
देउसी भैलो खेलेर रमाए पनि माग्नेलाई तिहारमा खड्कने एउटै कुरा थियो- दिदीबहिनी नहुनु। उनका तीन दाजुभाइ मात्र थिए। सानोमा त टिका लगाएपछि पैसा दिनुपर्छ भनेर पनि अभाव महसुस गरेनन्। तर ठूलो हुँदै जाँदा आफ्नै दिदी बहिनी हुनुपर्छ भन्ने महसुस गर्न थाले।
सबैले सानैदेखि काकाका छोरीहरुबाट टिका लगाए। तीनै काकाका छोरीहरु प्रतिक्षा, नीरा र नीशाको हातबाट आजसम्म टिका थाप्छन् उनी। भन्छन्,’सबैलाई बराबर दक्षिणा दिन्छु म।‘
यसपाली उनको तिहार काठमाडौंमा बित्दैछ। तर, पहिलेजस्तो रौनक महसुस गरेका छैनन्। किनकि यता न देउसी न भैलो। उनलाई त तिहार बालबालिकाहरुका लागि विषेश हो जस्तो लाग्न थालेको छ।
'बालबालिकाहरु रमाउने, प्रतिभा प्रस्फुटन गर्न पाउने चाड हो यो। बच्चाहरु देउसी भैलो गाउछन्, नाच्छन्।
अब त आफूलाई देउसी भैलो खेल्नभन्दा पनि देउसी खेल्न आउनेहरुलाई सुन्न, नाचेको हेर्न र नाङ्गलोभरी दान दक्षिणा लिएर निस्कन खुब आनन्द लाग्ने बताए।