PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

न्हू दँ :  भोलि वसन्तपुरमा गरिने कार्यक्रममात्रै स्थगित, मौन पदयात्रा भने हुने



सहयोग रञ्जित

न्हू दँ :  भोलि वसन्तपुरमा गरिने कार्यक्रममात्रै स्थगित, मौन पदयात्रा भने हुने
न्हू दँ र्‍यालीको फाइल फोटो

काठमाडौं : नेपाल संवत् ११३९ न्हूदँ (नयाँ वर्ष) को अवसरमा गरिने कार्यक्रमहरु हुने नहुनेमा अन्यौल भएको छ। 

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले पूर्वमन्त्री, वामपन्थी एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सबै कार्यक्रमहरु सोमबार स्थगित गरेको बताएको थियो।  

समितिले भने नेपाल संवत् ११३९ न्हू दँका अवसरका दिन अर्थात् भोलि (कात्तिक २२ गते) वसन्तपुरमा गरिने भनिएको कार्यक्रम मात्रै स्थगित गरिएको बताएको छ। 

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति अन्तर्गतको व्यवस्थापन समितिका सदस्य सुजीव बज्राचार्यले विगत २६ वर्षदेखि निरन्तर नयाँ वर्षका दिन वसन्तपुरमा आयोजना हुँदै आएको भिन्तुना र्यााली र शुभकामना सभामात्रै स्थगित गरिएको बताए। 

'नेपाल संवतलार्इ राष्ट्रिय संवत् बनाउन नेतृत्वदायी भूमिका खेलेका तुलाधरको देहावसान भएकाले भोलिको दिन उत्सव नमनाउने निर्णय भएको हो। बाँकी सबै कार्यक्रमहरु यथावत छन्' उनले भने।

बज्राचार्यले नेपाल संवतको प्रयोग र त्यससम्बन्धी हुने गोष्ठीका साथै शंखधर साख्वा दिवस लगायतका कार्यक्रमहरु समितिले संचालन गर्ने बताए।

स्थगित भएका कार्यक्रमहरू दिवंगत तुलाधरको १३ दिने पुण्यतिथि पश्चात आयोजना गर्ने निर्णय भएको पनि उनले बताए। 

समिति बाहेक टोखाको नेवाः गुठी, ललितपुरको ज्यापु समाज, न्हूदँ समारोह समिति यल लगायतका संस्थाहरुले पनि पद्मरत्नको निधनको शोकमा नेपाल संवतका अवसरमा गरिने कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ। 

यसपटक नेपाल संवत मनाउनका लागि 'मातृभाषा हाम्रो प्राण हो। नेपाल संवत् राष्ट्रको शान हो' भन्ने नारा तय गरेको समितिले वसन्तपुर लगायत काठमाडौं उपत्यका लगायत नेवार समुदायको उपस्थिति रहेको क्षेत्रमा स्वस्फूर्त रुपमा हुने कार्यक्रमहरु भए त्यसमा केही आपत्ति नरहेको जनाएको छ। 

तुलाधरले सुरु गरेको आन्दोलनको निरन्तरताका लागि मौन पदयात्रा

यता, तुलाधरको मृत्युलार्इ शोकका रुपमा नभइ शक्तिका रुपमा मनाउन विभिन्न व्यक्ति र संस्थाहरुले आह्वान गरेका छन्।

ह्याउँनिभा: संस्थाले वक्तव्यमार्फत् तुलाधरको मृत्यु पश्चात नयाँ वर्षका सन्दर्भमा गरिने भनिएका कार्यक्रमहरु स्थगित भएको बारे जनमानसमा भ्रम फैलिदै गएको उल्लेख गर्दै आफ्नो संस्थाले भने पद्मरत्नको सम्मानमा मौन पैदलयात्रा र्याउली आयोजना गर्ने बताएको छ।  

ह्याउँनिभा: का संरक्षक समितिका सदस्य अनुप सिं सुवालले समितिले कार्यक्रम नगरेकोले आफूहरुले कार्यक्रम गर्न लागेको बताए।

'नेपाल संवतलार्इ राष्ट्रिय मान्यता दिलाएर व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन नेतृत्व गर्ने नै पद्मरत्न हुन्। उनको निधन पश्चात सो दिन उनले सुरु गरेको आन्दोलन स्थगित भए त्यो आन्दोलन नै टुंगिन सक्ने सम्भावना हुन्छ।' 

न्हूदँलार्इ जीवन्त बनाउने तुलाधरको निधनले आफूहरु पनि शोकमा रहेको बताउँदै सुवालले भने 'जनमानसको इच्छा सम्बोधन गर्दै तुलाधरले सुरु गरेको आन्दोलनको निरन्तरता हो भोलिको मौन पदयात्रा।'

 नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले भोलि कार्यक्रम स्थगित गरेको प्रति आफूहरु असहमत नरहेको तर शोकलार्इ शक्तिमा बदल्नमात्रै कार्यक्रम गर्न लागेका सुवालले बताए।

संचारकर्मी विराजकाजी राजोपाध्यायले पद्मरत्नले न्हूदँको र्‍यालीलाई नेपाल संवतको आन्दोलनका रुपमा शुरु गरेका बताए। राष्ट्रिय संवत भनेर घोषणा गरिएपनि व्यवहारमा नेपाल संवत लागू नभएको अवस्थामा पद्मरत्नको निधन भएता पनि नेपाल संवत लागू गराउन अझै बांकी रहेको उनको तर्क छ। उनले भने 'न्हूदँको र्यानली रोक्नु भनेको पद्मरत्नको आन्दोलन रोक्नु हो। तर भोलिका दिनलार्इ उत्सवका रुपमा नभई उनले सुरु गरेको आन्दोलनलार्इ कायम राख्न र्यापली भएको राम्रो।' 

प्रत्येक वर्ष झैँ नेपाल संवतको अवसरमा काठमाडौंको वसन्तपुरमा मूल समारोह आयोजना गर्ने गर्छ। यस वर्ष पनि ११३९ नयाँ वर्षको उपलक्ष्यमा कात्तिक २२ गते बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो। प्रधानमन्त्री अस्वस्थ रहेकाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल आउने समेत तय भइसकेको थियो। 

तुलाधर नेपालभाषा मंका: खलका संस्थापक अध्यक्ष, नेवा: देय् दबूका एक संस्थापक रहनुका साथै आदिवासी जनजाती राष्ट्रिय आन्दोलनका संयोजक समेत थिए। 

नेपालभाषा मंका: खलले नेपाल संवतलार्इ राष्ट्रिय संवतको मान्यता दिलाउन तुलाधरको नेतृत्वमा तीन दशकसम्म आन्दोलन गरेको थियो। नेपाल संवत ११०० अर्थात वि सं २०३९ सालमा आयोजित नहुदँया भिन्तुना र्‍यालीले तुलाधरकै नेतृत्वमा नेपाल संवतको आन्दोलनको रुप लिएको थियो। 'भाषा म्वा: सा जाती म्वाइ' (भाषा रह्यो भने मात्र जातिको अस्तित्व रहन्छ) भन्ने नाराका साथ तुलाधरकै अगुवाइमा नेपाल संवतलार्इ राष्ट्रिय मान्यता दिलाउने आन्दोलन भयो। फलस्वरुप वि सं २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टरार्इ प्रधानमन्त्री हुँदा नेपाल संवतका प्रवर्तक शंखधर साख्वा: लार्इ राष्ट्रिय विभूति घोषणा गरिएको थियो।

गणतन्त्र आइसकेपछि पुष्पकमल दाहालको नेतृत्वमा बनेको पहिलो सरकारले ने सं ११२५ (वि सं २०६५ कार्तिक ७) गते नेपाल संवतलार्इ राष्ट्रिय मान्यता प्रदान गरेको थियो। 

नेपाल संवत् आन्दोलनका प्रणेता तुलाधर कार्तिक १८ गते निधन भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell