
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
क्रिस्टियानो रोनाल्डोले पूर्व क्लबविरुद्ध गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए पनि अन्तिम चार मिनेटभित्र दुई गोल गर्दै युनाइटेडले जित हात पारेको हो।
९०औँ मिनेटमा युभेन्ट्सकै खेलाडी लियोनार्दो बोनुचीको आत्मघाती गोलपछि युनाइटेड २-१ ले विजयी भएको हो।
यसअघि युनाइटेडको घरेलु मैदानमा भएको खेल युभेन्ट्सले १-० ले जितेको थियो। अवे मैदानमा जित हात पार्दै युनाइटेडले त्यसको बदला समेत लिएको छ।
रोनाल्डोले पहिलो हाफमा भली मार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। तर अन्तिम चार मिनेटमा सम्हालिन नसक्दा युभेन्ट्स पराजित भयो। ८६औँ मिनेटमा हुँवान माटाले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ९०औँ मिनेटमा एस्ले ङले सेट पिसमा मिलाएको बल बोनुचीलाई डिफ्लेक्ट हुँदै गोल भएको हो।
जितपछि समूह एचमा युनाइटेडले ४ खेलबाट ७ अंक जोडेको छ। पहिलो हार बेहोरेको युभेन्ट्सको समान खेलबाट ९ अंङ्क छ र अझै समूहको शीर्ष स्थानमा छ। यस्तै स्वीस क्लब योङ ब्वाइजलाई ३-१ ले पराजित गर्दै स्पानिस क्लब भ्यालेन्सियाले ५ अंक जोडेको छ।
भ्यालेन्सियाको लागि सान्ती मिनाले दुई तथा कार्लोस सोलेरले एक गोल गरे।