PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चीनमा सिकेको डिजाइनबाट यसरी तयार हुँदैछ मुग्लिनमा आर्क ब्रिज



दिनेश खड्का

चीनमा सिकेको डिजाइनबाट यसरी तयार हुँदैछ मुग्लिनमा आर्क ब्रिज

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। यसको प्रयोगसँगै नेपाली आफैले डिजाइन गरेर आर्क ब्रिज निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित हुनेछ।

१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार आगामी फागुनसम्ममा यो ब्रिजले सवारीसाधन संचालन हुनेछन्।

महाशाखाका अनुसार २०७१ फागुनबाट निर्माण सुरु गरिएको ब्रिज २०७४ असारमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर पछिल्लो संशोधित तालिका अनुसार फागुनमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

करिब ८ बर्षअघि सडक विभागबाट १६ जना इन्जिनियर आर्क ब्रिज सम्वन्धि अध्ययन गर्नका लागि चीन गएका थिए। त्यहाँ करिब ३ महिना अध्ययनपछि उनीहरु नेपाल फर्किएका थिए। नेपाल फर्किएर उनीहरुले आफैँले डिजाइन गरेर चोभारमा ट्रायलका रुपमा एउटा आर्क ब्रिज निर्माण गरेका हुन्। चोभारमा मन्जुश्री पार्क र भैसेलार्इ जोड्ने उक्त पुल ६० मिटर लामो छ। 

अहिले अधिकांश चीनबाट अध्ययन गरेर फर्किएका इन्जिनियरहरु सडक विभाग छाडेर बाहिरी बजारमा काम गर्छन् तर केही इन्जिनियर भने अझै पनि सडक विभागको पुल महाशाखामा छन्। तीनै इन्जिनियर र कन्ट्रयाक्टर मिलेर आर्क ब्रिजको डिजाइन बनाएर निर्माणको काम सुरु गरिएको थापाले जानकारी दिए।

डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का लगाइएको छ। यस्तो प्रक्रियाबाट ठेक्का लगाउँदा ठेक्का पाउने कम्पनीले डिजाइन तयार पारेर विभागबाट स्वीकृत गरार्इ निर्माण गर्नुपर्ने हुन्छ। यो पुलको चीनबाट अध्ययन गरेर आएका डा. विजय जैसी र एलाइट एडभेन्चरका इन्जिनियरहरु मिलेर डिजाइन फाइनल गरेका हुन्। 

पुलले टेक्नोलोजी  ट्रान्सफरमा उल्लेखनीय योगदान पुर्याएको छ। 'हामी आफै पनि यस्ता पुल डिजाइन गर्न सक्छौ भन्ने सावित भएको छ। डिजाइनर, सडक विभाग र कन्ट्रयाक्टरको आत्मविश्वास बढेको छ,' उनले भने।

थापाका अनुसार, अन्य ठाउँमा मुग्लिनभन्दा तल घुमाउनेघाट, सुनकोशीमा उदयपुर-ओखलढुङगा जोड्ने फोक्सिङटारका साथै हेम्जा र लामाबगर जोड्ने ठाउँमा समेत आफैले  डिजाइन गरेर निर्माण गर्न लागिएको छ। 'हाम्रो हिम्मत बढेको छ हामी पनि सक्छौ भनेर आत्मविश्वास बढेको छ,' उनले भने। 

मुग्लिनमा निर्माण गर्न लागिएको यो पुलको आर्क ढलान गर्ने र त्यसमाथिका पिल्लहरु तयार पार्ने लगायतका कामहरु बाँकी रहेको महशाखाले जनाएको छ। अब केही टेक्निकल काम र गाडी गुडाउनका लागि डेक राख्ने काम बाँकी छ। दुर्इ लेनको यो पुल करिव ९ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो। 

किन आर्क?

आर्क ब्रिज सामान्य पुलभन्दा बलियो मानिन्छ भने यो नयाँ प्रविधिमा आधारित भएका कारण निर्माणका लागि लाग्ने लागत पनि कम छ।

यस्तो खालको पुलमा बीचमा सामान्य पुलमा जस्तो पेयर निर्माण गर्नुपर्दैन भने त्यसका लागि जग खन्नु नपर्ने भएका कारण खर्च कम लाग्छ। सामान्य पुलमा लोड पिल्लरमा थाम्छ तर आर्क ब्रिजमा लोड आर्कले नै लिन्छ र छड्के केवलले आर्कमा लोड ट्रान्सफर गर्छ। यसमा निर्माण गरिने सुपर स्ट्रक्चर र सव स्ट्रक्चरले सबैको लोड दुर्इ तिरको जमिनमा ट्रान्सफर गर्छ।

सवारीसाधन गुड्दा यसमा भाइब्रेसन हुँदैन। यो पुलहरु थर्किँदैन। त्यस्तै कठिन र पिल्लरहरु निर्माण गर्न नसकिने खोच तथा अप्ठ्यारा ठाउँहरुमा समेत यी पुलहरु सहजै निर्माण गर्न सकिन्छ।

'हाम्रो डिजाइन केही हेभी छ। चिनियाँहरुले नयाँ विकास गरिसकेका छन्, जुन केही लाइट छ,' उनले भने 'हामी पनि विस्तारै यस्तै पुलका नयाँ नयाँ टेक्नोलोजी सिक्दै जान्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell