
काठमाडौँ : महिला फुटबलमा भारत नेपालको लागि सँधै तगारो बनेर उभिने गरेको थियो। अहिलेसम्मको दक्षिण एसियाली स्तरका प्रतियोगिता भएको भेटमा नेपालले भारतलाई हराउन सकेको थियो।
त्यही भारतसँग बराबरी खेल्दै नेपालले म्यानमारमा आजदेखि सुरु भएको ओलम्पिक छनोटको यात्रा सुरु गरेको छ।
पहिलो हाफको खेल सकिन आठ मिनेट अगाडी भारतले गोल फर्काएपछि नेपालले १-१ को बराबरी खेल्दै अंक बाँड्नुपरेको हो। त्यसअघि नेपालले अग्रता लिएपनि अन्तिममा गोल खाँदा ऐतिहासिक जितबाट बन्चित भयो।
म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपालले खेलको ११औँ मिनेटमै गोल गरेको थियो। कप्तान निरु थापाले ११औं मिनेटमा गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन्।
तर नेपालको अग्रता लामो समय टिकेन। पहिलो हाफको ३७औँ मिनेटमा तर भारतले गोल फर्कउँदै अंक खोस्यो। भारतका लागि ३७औँ मिनेटमा कमला देवी युम्नामले गोल गरिन्।
बराबरीपछि समूह सी मा दुवै टोलीले १-१ अंक जोडेका छन्।
नेपालले अहिलेसम्म महिला फुटबलमा भारतलाई हराउन सकेको छैन। यसअघि खेलका ८ खेल मध्ये नेपाल ७ खेलमा पराजित भएको थियो भने १ खेल मात्र बराबरीमा टुंगिएको थियो। सन् २०१६ को दक्षिण एसियाली खेलकुद (साग गेम्स)को लिग चरणमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो।
उक्त खेल गोलरहित बरारीमा टुङ्गेका कारण अहिलेको १-१ को बराबरी भारत विरुद्ध नेपालको उत्कृष्ट नतिजा समेत हो।
आजै भएको समूह सी को अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई ५-० ले पारजित गर्दै ३ अंक जोडेको छ।
नेपालले अब समूह चरणमा आयोजक म्यानमारसँग नोभेम्वर ११ (आइतवार) र बंगलादेशसँग नोभेम्वर १३ (मंगलवार) मा खेल्नेछ।
एसियाबाट ओलम्पिकमा दुई टिम छनोट हुनेछन्
सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक छनोटअन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणको छनोटमा सहभागी कूल १८ देशलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेता र उपविजेता सिधै दोस्रो चरणमा पुग्नेछ भने चार समूहको तेस्रो हुने मध्ये उत्कृष्ट दुई टोली पनि दोस्रो चरणका लागि छनोट हुनेछन्।
भियतानाम र उज्जेकिस्तान भने उत्कृष्ट वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन्।
दोस्रो चरणका खेलहरु सन् २०१९ अप्रिलमा हुनेछ। दोस्रो चरणमा छनोट भएका १२ टोलीलाई तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ।
तीन वटै समूहको शीर्ष स्थानमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। उच्च वरियतामा रहेका अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरिया तेस्रो चरणमा छनोट भइसकेका छन्।
यी पाँच र दवस्रो चरणको उत्कृष्ट तीन गरी आठ टोलीबीच तेस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।
यी आठ टिमलाई पुन: दुई समूहमा विभाजन गरेर खेलाइनेछ र दुवै टोलीको पहिलो र दोस्रो हुने टिमले चौथो तथा अन्तिम चरणमा स्थान बनाउनेछन्।
अन्तिम चरणका खेलहरु होम एण्ड अवे प्रणालीमा खेलाइनेछ। त्यसबाट विजयी हुने दुई टोली सन् २०२० मा टोकियोमा हुने ओलम्पिकका लागि छनोट हुनेछन्। जापान भने आयोजकको हैसियतमा ओलम्पिकका लागि छनोट भइसकेको छ।