PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बालुवाटारको भाइटीका : बहिनीले प्रमलाई सोधिन्, काजु खाने? प्रमले जवाफ फर्काए- म खान्नँ, पत्रकारहरुलाई बाँडिदिनू !

बालुवाटारको भाइटीका : बहिनीले प्रमलाई सोधिन्, काजु खाने? प्रमले जवाफ फर्काए- म खान्नँ, पत्रकारहरुलाई बाँडिदिनू !

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई दुई बहिनी र दुई भाञ्जीहरुले बालुवाटारमा भाइटीका लगाइदिएका छन्। ११ बजेर ५५ मिनेटको साइतमा प्रधानमन्त्री ओलीले सप्तरङ्गी टीका लगाएका हुन्। 

ओलीकी जेठी बहिनी विष्णुमाया ढकाल चितवनबाट र माहिली बहिनी कमलादेवी कोइराला झापाको काकडभिट्टाबाट प्रधानमन्त्रीलाई टीका लगाइदिन काठमाडौँ आएका थिए।  

प्रधानमन्त्री ओलीको भाषण जस्तै भाइटीका कार्यक्रम पनि हाँसोले गुञ्जिएको थियो। प्रधानमन्त्रीले लगाएको कालो भादगाउँले टोपीमाथि बहिनीहरुले ढाकाटोपी लगाइदिन खोज्दा सबै हाँसेका थिए। 

पछि प्रधानमन्त्री आफैले कालो टोपी फुकाले। त्यसपछि अर्को भादगाउँले टोपी बहिनीले लगाइदिइन्। 

प्रधानमन्त्रीलाई दिनका लागि बहिनीहरुले सेल र काजु, किसमिससहितको भाइमसला ल्याएका थिए। एक बहिनीले एउटा भाइमसलाको प्याकेट खोलेर सोधिन्, 'खाने?'

पाँच दिन अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरी फर्किएका प्रधानमन्त्रीले जवाफ फर्काए, हैन, म खान्नँ। बरु यहाँ आएका पत्रकारहरुलाई बाँडिदिनू। 

प्रधानमन्त्री पूर्ण रुपमा स्वस्थ जस्तो देखिएका थिएनन्। अनुहार पनि सुन्निएको जस्तो देखिएको थियो। सानो स्वरमा बोलिरहेका थिए। तर बेलाबेलामा हँसाउन भने उनी पछि परेका थिएनन्। उनले हँसाएपछि माहौल रमाइलो बन्थ्यो। 

प्रधानमन्त्रीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि कुर्सीमा बसेकी थिइन्। बहिनीहरुले उनलाई पनि सप्तरङ्गी टीका लगाइदिएकी थिइन्। 


 


ट्रेन्डिङ पोस्ट

Ncell