
जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले यस सिजन अपराजित यात्रा कायम राख्दा साविक विजेता वायर्न म्युनिखले भने तेस्रो हार बेहोरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले दुई पटक पछि परेर पनि वायर्नलाई ३-२ ले पराजित गर्यो।
घरेलु मैदानमा डर्टमण्डका लागि मार्को रिउसले दुई तथा फ्रान्सिस्को अल्कासेरले एक गोल गरे। वायर्नका लागि रोवर्ट लेवान्डास्कीले दुई गोल गरेपनि जित दिलाउन सकेनन्।
लेवान्डास्कीले २६औँ मिनेटमा गोल गर्दै वायर्नलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको डर्टमण्डका लागि रिउसले ४९औँ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए।
लेवान्डास्कीले नै ५२औँ मिनेटमा गोल गर्दै पुन: वायर्नलाई अग्रता दिलाएङ्का थिए। तर उक्त अग्रता पनि लामो समय टिकेन। ६७औँ मिनेटमा रिउसले नै डर्टमण्डका लागि बराबरी गोल गरे। त्यसको ६ मिनेटपछि नै अल्कासेरले गरेको गोल डर्टमण्डलाई तीन अंङ्क दिलाउन निर्णायक बन्यो।
जितपछि डर्टमण्ड ११ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा कायम छ। वेडर ब्रेमनेलाई ३-१ ले पराजित गर्दै २३ अंक जोडेको बोरुसिया मोनेच्नेग्लाडब्याक दोस्रो स्थानमा छ।
सिजनको तेस्रो हारपछि २० अंक जोडेको वायर्न भने तेस्रो स्थानमा छ।