PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश ५ को राजधानी सिफारिस गर्न गठित संसदीय समिति आफैं अलपत्रः तीन महिनामा दुई बैठक, संयोजक समेत तोक्न सकेन



चन्द्रकान्त खनाल

प्रदेश ५ को राजधानी सिफारिस गर्न गठित संसदीय समिति आफैं अलपत्रः तीन महिनामा दुई बैठक, संयोजक समेत तोक्न सकेन

रुपन्देहीः प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरण सिफारिसका लागि गठित संसदीय समितिले तीन महिनासम्म राजधानी र नामकरणमा कुनै निर्णय लिन सकेको छैन। स्पष्ट निर्णय गर्न नसक्दा संसदीय समिति तीन महिनासम्म सामान्य छलफलमै सीमित भएको छ। साउन २४ गते तीन महिनाभित्र राजधानी र नामकरण सिफारिस गर्नेगरि समिति गठन भएको थियो।

साउन २४ गते तीन महिनाका लागि समिति गठन भएको थियो। समितिले निर्धारित समयमा  एउटा परिचयात्मक र एउटा सामान्य छलफल बाहेक केही गर्न नसकेको हो। तीन महिनाको अवधिमा दुई बैठकमात्र बसेका छन्। समितिले समयमा काम नगरेपछि स्थायी राजधानी र नामकरणको विषय थप पछि धकेलिएको छ।

राजधानी र नामकरण सिफारिस मात्र हैन समितिले तीन महिनामा आफ्नो सञ्चालन कार्यविधि र संयोजक समेत तोक्न सकेन। समिति संयोजक नै नभएकाले दुई वटा बैठक पनि ज्येष्ठ सदस्य सरस्वती गौतमको अध्यक्षतामा बसेका थिए।

पहिलो बैठकमा सामान्य परिचय मात्रै भएको र दोस्रो बैठकमा प्रदेशसभा सचिवालयले तयार गरेको समितिको कार्यविधि मस्यौदामा सामान्य छलफल भएको समिति सदस्य दिनेश पन्थीले बताए।

मुख्यमन्त्री शंकर पोखरेलको कार्य व्यस्तताले कार्यविधिमा छलफल र पारित हुन नसकेको समितिका ज्येष्ठ सदस्य गौतमले जानकारी दिइन्।

तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामकरणको प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने अधिकार पाएको समितिमा रुपन्देहीका तुलसी प्रसाद चौधरी र  रमा अर्याल, कपिलवस्तुका विष्णु प्रसाद पन्थी र सहर्षराम यादव अर्घाखाँचीका निर्मला क्षेत्री, कल्पना पाण्डे र चेतनारायण आचार्य, गुल्मीका दिनेश पन्थी, पाल्पाका  वीर बहादुर राना र नारायण प्रसाद आचार्य, दाङबाट सरस्वती गौतम, प्युठानका तारा जिसी, रोल्पाका दीपेन्द्र कुमार पुन ,बर्दियाका दीपेश थारु र भुवनेश्वर चौधरी सदस्य रहेको समिति गठन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell